काठमाडौँ । जंगली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षीया पातली तामाङको बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरीक्षक इन्द्रमणि अधिकारीले जानकारी दिए ।
प्रहरी निरीक्षक अधिकारीका अनुसार जंगली हात्तीले बिहान एक्कसी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको, निजको श्रीमानले भने भागेर ज्यान बचाएको र घर पूर्ण रुपमा क्षति भएको तथा सँगैको अर्को घरलाई समेत क्षति पुर्याएको छ ।
घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँ पुगी स्थानीयसँगको सोधपुछपछि अहिले थप अनुसन्धान प्रक्रियमा जुटेको प्रहरीले जनाएको छ ।