‘पूर्ण बहादुरको सारङ्गी’को उत्साहजनक व्यापार, पछि परे हिन्दी फिल्म-Sutra News

‘पूर्ण बहादुरको सारङ्गी’को उत्साहजनक व्यापार, पछि परे हिन्दी फिल्म

सोमबार, १९ कार्तिक २०८१

सोमबार, १९ कार्तिक २०८१

काठमाडौं । लक्ष्मीपूजाका दिन रिलिज भएको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा उत्साहजनक व्यापार गरिरहेको छ । प्रदर्शनको सुरुवातीमा अकुपेन्सी कम देखिएपनि क्रमशः फिल्मले दर्शकको उत्साहजनक साथ पाउन थालेको छ । शनिबार र आइतबार अधिकांश शो हाउसफूलको अवस्थामा हुँदा सोमबारको प्रदर्शन पनि उस्तै उत्साहजनक छ ।



आज क्यूएफएक्सले काठमाडौंमा ३१ र काठमाडौं बाहिर ३३ शो दिएको छ । सँगै अन्य हलले पनि फिल्मलाई उच्च शो दिएका छन् । सुरुवातीमा दुई शो दिएका हलले अहिले सात शोसम्म पुर्‍याएका छन् ।

सोमबारसम्म आउँदा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले भारतीय दुई ठूला फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया–३’लाई पछि पारेको छ । आज यी दुई हिन्दी फिल्मले भन्दा ‘पूर्णबहादुरको सारङ्गी’ले उच्च शो पाएको छ ।

सोमबार क्युएफएक्समा ‘सिंघम अगेन’ले ६० र ‘भूल भुलैया ३’ले ५७ शो पाएका छन् ।

सुरुवातीमा शो दिन कन्जुसाई गरेका हलहरुले प्रत्येक शो हाउसफूल हुन थालेपछि शो थपिरहेका हुन् ।

सँगै फिल्म हेरेका दर्शकको प्रतिक्रिया निकै सुखद खालको छ । दर्शकहरुले निकै सकारात्मक प्रतिक्रिया मात्रै दिएका छैनन्, थप अरुलाई हेर्न पनि सुझाएका छन् ।
यसैबिच, फिल्म निर्माण पक्षले शो बढाइदिएकोमा हलहरुप्रति खुसी व्यक्त गरेको छ । निर्माण पक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै खुसी व्यक्त गरेको हो । नेपाली चलचित्र उद्योगलाई थप ऊर्जाशील बनाउन सहयोग पुग्ने निर्माण पक्षको भनाई छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल र प्रकाश सपूतको मूख्य अभिनय छ । सँगै, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको पनि अभिनय देख्न पाइन्छ ।

गन्धर्व समुदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबुछोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा भनिएको छ ।

फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट