के चाडपर्वपछि सेयर बजार बढ्न सक्छ ? के छन् आधार ?-Sutra News

के चाडपर्वपछि सेयर बजार बढ्न सक्छ ? के छन् आधार ?

सोमबार, १९ कार्तिक २०८१

सोमबार, १९ कार्तिक २०८१

काठमाडौं । केही वर्षदेखि नै १८ सयदेखि २२ सयको बिन्दुसम्म घुमिरहेको सेयर बजार पछिल्लो पटक संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सत्ता समीकरण बनेसँगै उत्साहित देखियो । दुई दलबिच समीकरण बनाउने सहमतिसँगै उत्साहित बनेको बजार, सरकार निर्माणसँगै क्रमिक उकालो यात्रामा लाग्यो ।



असार २९ देखि साउन ३१ सम्म आउँदा नै बजारले ३ हजारको बिन्दुलाई चुमिसकेको थियो । बजारमा झण्डै ८ सय अंकको वृद्धि २४ कारोबार दिनको बिचमै भएको थियो ।

साउन ३१ मा ३ हजारको बिन्दुमा उक्लिएको बजार त्यसयता भने घट्दै २४ सयको बिन्दुसम्म झर्‍यो । नेप्से असोज १३ सम्म आइपुग्दा २४६४ को बिन्दुसम्म ओर्लिएको थियो ।

यद्यपि, यसअघिका ट्रेन्डलाई छाड्दै चाडपर्वकै बिचमा नेप्सेले फेरि उकालो यात्रा समायो । दसैँ तिहारकै बिचमा नेप्सेमा २ सय अंक बढीको वृद्धि भएको छ ।

तिहारअघिको अन्तिम कारोबार दिनसम्म आउँदा नेप्से २६७७.६२ को बिन्दुमा अडिएको छ । लगातार उच्च वृद्धिका बिच तिहारअघिको अन्तिम कारोबार दिन नेप्सेमा झिनो अंकको गिरावट आएको थियो ।

एक महिनामै झण्डै ८ सय अंक हाराहारीको वृद्धि र त्यसयता दुई महिना सेयर बजारमा करेक्सनको अवस्थामा रह्यो । बजारको ट्रेन्डलाई हेर्दा, करेक्सनको एउटा चरणपछि पुनः बजारले उकालो यात्रा समात्न खोजेको देखिन्छ ।

चाडपर्वको चापको बिच जे–जसरी बजारमा वृद्धि भयो, यसले बजारलाई अगाडि लैजान खोजेको संकेत गर्दछ ।

बजारका जानकारहरू पनि चाडपर्व सकिएसँगै बजारमा उत्साह छाउने विश्लेषण गर्दछन् ।

बजार मंगलबारदेखि खुल्दैछ । यद्यपि, बिचमा छठ पर्व परेको कारण कारोबार दिन जम्मा दुई दिनको छ ।

छठ पर्वपछि अर्को साता पनि चार दिन मात्रै बजार खुल्नेछ । मंसिरदेखि भने निरन्तर बजार चल्नेछ ।

आगामी ६ कारोबार दिनकै बिच बजारले लय लिने बजारका जानकारहरूको भनाई छ ।

बजार किन र कसरी बढ्दैछ भन्ने सन्दर्भमा विश्लेषकहरूको धारणाका आधारमा हामीले सम्भावनालाई केलाएका छौं । विश्लेषकहरूले औंल्याएको बजार बढ्ने चार कारण :

स्वाभाविक वृद्धि
सेयर बजारमा बाह्य कारणलाई छाड्दा बजारको आफ्नै शैली हुने नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे बताउँछन् । उनका अनुसार बजारमा उतारचढाव आइरहन्छ, जसमा समय र अंकको महत्वपूर्ण भूमिका हुन्छ । लगातार वृद्धिपछि करेक्सन, करेक्सनपछि वृद्धि आफ्नै प्रक्रिया भएको उनको बुझाई छ ।

जसअनुसार ३ हजार बिन्दुदेखि २४ सयको बिन्दुसम्म ठुलो करेक्सन थियो भने त्यसयता वृद्धि र साना करेक्सनहरू भइरहेको छ । जसका आधारमा अब भने बढ्ने अवस्था स्वाभाविक छ ।

“बजारमा उतारचढाव भइरहन्छ, कहिले बढ्छ त कहिले घट्छ, यो बजारको नियम हो”, रजौरे भन्छन्, “झण्डै ६ सय अंकको करेक्सन र करेक्सनपछि पुनः उकालो यात्रा र योबिचमा चाडपर्वको केही प्रभावअनुसार केही गिरावट, अब भने अवरोध देखिन्न ।”

रजौरेको बुझाइलाई हेर्दा, स्वाभाविक लयअनुसार बजार अब अगाडि बढ्नुपर्छ ।

राजनीतिक अन्योलताको अन्त्य

बजारमा ठुलो प्रभाव पार्ने तत्वको रूपमा राजनीतिक घटनाक्रमलाई लिन सकिन्छ । १८ सयदेखि २२ सयको बिन्दुसम्म नै अलमल परेको नेप्से राजनीतिक घटनाक्रममा परिवर्तन भएसँगै उत्साहित बन्यो । जसको प्रभाव अहिले पनि कायमै छ ।

योबिच सरकारबारे केही प्रश्न उठेसँगै बजार प्रभावित भएको देख्न सकिन्छ । रजौरेको बुझाइमा सरकारसम्बन्धी अन्योलता अन्त्य भएको छ, जसको प्रभाव स्वरूप बजार बढ्छ ।

“सरकार नै परिवर्तन हुने हो कि भन्ने पनि पर्‍यो, तर दलहरूले नै विवादलाई हल गरेर सफा बनाए”, उनी भन्छन्, “सरकारले स्थायित्व पाउने सन्दर्भ प्रस्ट भएको छ, जसको प्रभाव बजारमा स्वाभाविक पर्दछ ।”

ब्याजदरको निरन्तर घटाई

बैंकहरुको ब्याजदर निरन्तर घटिरहेको छ । ब्याजदर एकल बिन्दुमा मात्रै झरेको छैन, निकै न्यून बिन्दुमा आएको छ । असोजमा व्यक्तिगत निक्षेपतर्फ ६.३९ प्रतिशत रहेको ब्याजदर कात्तिकमा ६.१८ प्रतिशत कायम भएको छ । जुन मंसिर महिनामा थप घट्ने सम्भावना छ ।

रजौरेका अनुसार ब्याजदर र सेयर बजारबिच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा सेयर बजार बढ्छ भने ब्याजदर बढ्दा बजार घट्छ ।

अहिलेको अवस्था सेयर बजारका लागि निकै अनुकूलित भएको बुझाई रजौरेको छ । “ब्याजदर निकै न्यून बिन्दुमा झरेको छ, बैंकमा मुद्दती निक्षेपमा राख्ने लगानीकर्ता सेयर बजारतर्फ आकर्षित हुने अवस्था छ”, उनी भन्छन्, “जसको प्रभाव स्वाभाविक बजारमा पर्दछ, विगतमा पनि ब्याजदर घट्दा बजार बढ्ने गरेको थियो ।”

मौद्रिक नीतिको समीक्षा

मौद्रिक नीति जारी गर्दा नै गभर्नर महाप्रसाद अधिकारीले त्रैमासिक समीक्षामार्फत थप विषय सम्बोधन हुने बताएका थिए । सेयर बजारका लगानीकर्ता तथा जानकारहरूले आगामी मौद्रिक समीक्षा थप लचिलो आउने अपेक्षा व्यक्त गरेका छन् ।

मौद्रिक नीतिमार्फत संस्थागततर्फको २० करोडको क्याप हटाए पनि व्यक्तिगततर्फ लगाइएको १५ करोडको क्याप हटाइएको थिएन । जसलाई मौद्रिक समीक्षामार्फत सम्बोधन गर्ने सम्भावना छ । जसतर्फ स्वयम् गभर्नरले संकेत गरेका छन् ।

अर्कोतर्फ, जोखिम भार कम गराउने सम्भावना छ । बजारका लगानीकर्ताहरूले निरन्तर जोखिम भार घटाउन माग गर्दै आएका छन् ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूमार्फत सहज लगानीको वातावरण बनाउन पनि लगानीकर्ताहरूको माग छ । जसतर्फ पनि समीक्षामार्फत सम्बोधन हुनसक्ने अर्का साधारण लगानीकर्ता संघका अध्यक्ष जगतजङ्ग जिसी बताउँछन् ।

“मौद्रिक नीतिमा हाम्रा मागहरू सबै सम्बोधन भएनन्, स्वाभाविक मागहरू पनि सम्बोधन नभएको तर, गभर्नरबाटै समीक्षामा आउँछ भनेको सन्दर्भमा आउँछ भन्ने विश्वास राख्नुपर्दछ”, उनले भनेका छन्, “अर्थमन्त्रालयले पनि केही सकारात्मक पहल गरिरहेको छ, जसलाई हेर्दा समीक्षाले धेरै कुराको सम्बोधन गर्न सक्छ ।”

यससँगै, कम्पनीहरूको सुधारिएको रिपोर्ट, धितोपत्र बोर्डमा नेतृत्व चयनको प्रक्रियालगायतका विषयले पनि लगानीकर्तालाई उत्साहित बनाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट