काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’ नेपाल रिलिजको तीन सातापछि जापानी डायस्पोरामा प्रदर्शन हुने भएको छ । वितरण कम्पनी बीटीकेएस इन्टरटेनमेन्टले चन्द्र पन्त निर्देशित फिल्म मंसिर २२ (७ डिसेम्बर)देखि त्यहाँ रिलिज हुने जनाएको हो ।
सो मितिमा चिबास्थित सिभिक हलमा फिल्मको पहिलो प्रदर्शन हुनेछ । चिबासहित १४ जापानी सहरमा फिल्म प्रदर्शन हुने जनाइएको छ । अन्य १३ सहरको प्रदर्शन मिति तय हुन बाँकी छ ।
चिबापछि टोक्यो, कानागावा, फुनाबासी, नारिता, अबिको, नागोया, फाकुओका, ओसाका, कोबे, क्योटो, निगाता, सिजुओका र ओकिनावामा फिल्म प्रदर्शन हुने जनाइएको छ ।
नेपालमा भने कात्तिक ३० कात्तिकमा प्रदर्शन तय छ । यो मल्टिस्टारर फिल्ममा नेपाल र भारतीय फिल्मका हस्ती छन् । एकातिर प्रदीप रावत, ब्रम्हनन्दम, अलिजस्ता भारतीय सिद्धहस्त कलाकार र अर्कोतिर रेखा थापा, विपना थापा, सरोज खनाल, प्रशान्त ताम्राकारजस्ता नेपाली कलाकार छन् ।
शीर्ष भूमिकामा नीता ढुंगाना र हरिहर अधिकारी छन् । नीता फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्माण ढुंगानाले गरेकी हुन् ।