काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी र हिमाली भागमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै र बाँकी पहाडी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
यसैगरी दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो काठमाडौँ उपत्यकमा पनि क्षणिक वर्षाको सम्भावना देखिएको छ ।
आज राति बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाका अनुसार बिहान देशभर मौसम आंशिकदेखि साधारणतया बदली रही देशका पहाडी भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।