आजदेखि छठ पर्व सुरू, पहिलो दिन नहाय खाय-Sutra News

आजदेखि छठ पर्व सुरू, पहिलो दिन नहाय खाय

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ । आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रुपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठपर्व सुरु भएको छ ।



अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि मिथिलाञ्चलमा पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुन्छ । बजारमा पूजा सामग्री किन्नेको चहलपहल बढेको छ ।

छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ । यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्न बजारमा चहलपहल बढेको हो ।

आदिदेव सूर्य भगवानलाई अर्घ्य दिन मिथिलाञ्चलका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयको किनारमा घाट बनाएर विशेष रूपले शृङ्गारिँदै छ । खासगरी जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी गङ्गासागर, धनुष सागर, अङ्गराजसर, दशरथ तलाउ, रत्नसागर, गोर्धोइ पोखरीलगायत पोखरीलाई सजाइएको छ ।

गङ्गा सागरमा तीन वटा समितिले छठको तयारी गरिरहेको छ । गङ्गा सागर छठ पूजा समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतभन्दा यो वर्ष सजावटमा वृद्धि गरेका छन् । उनले छठ घाटमा अर्घ्य लिएर आउने श्रद्धालुहरूका लागि घाटमा नम्बरिङ गरिएको बताए ।

उनले पछिल्लो तीन वर्ष प्रतिअर्घ्य पाँच सय ५१ निर्धारण गरिएकामा यस वर्ष पाँच सय मात्र निर्धारण गरिएको बताए । गङ्गा सागरमा गङ्गा सागर छठ पूजा समिति, जनक युवा क्लब र बजरङ्ज युवा क्लबले छठको तयारी गर्ने गरेको छ ।

जनकपुरधामको प्रसिद्ध गङ्गा सागर, धनुष सागर तथा अङ्गराज पोखरीमा मात्र ११ हजारभन्दा बढी श्रद्धालु छठ पूजा गर्ने गर्छन् । जनकपुरधामको छठ पर्व सबैभन्दा प्रसिद्ध रहेको बताइएको छ । यसका लागि हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ । जनकपुरधामका साथै धनुषाका गाउँगाउँमा रहेका पोखरीसमेत छठ पर्वमा सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बर्तालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो दिन साँझ प्रसादका रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्छन् ।

त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट