काठमाडाैं । अमेरिकामा मंगलबार आम निर्वाचन हुँदैछ । जसले आगामी ४ वर्षको लागि ह्वाइट हाउसमा कुन अनुहार रहने भन्ने निर्णय गर्नेछ ।
यसपटककाे निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसबीच नै मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । मतदानअघि भएका मत सर्वेक्षणहरूमा पनि राष्ट्रपतिका मुख्य प्रत्यासी ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने देखाएकाे छ ।
मत सर्वेक्षणहरूमा त्रुटिको मात्रा (मार्जिन अफ एरर)भित्रै दुई उम्मेदवारले पाउने मतको अन्तर देखिएको छ। त्यसभन्दा दुई वा तीन अंक मात्रै तलमाथि भएको अवस्थामा कुनै एक उम्मेदवारले सहजै जित्ने आकलन गर्न सकिन्थ्यो।
कुनै पनि उम्मेदवारले चुनाव जित्नका लागि कुल ५३८ इलेक्टोरल भोटमध्ये २७० मत प्राप्त गर्नुपर्नेछ।
अमेरिकामा कुल ५० राज्यहरू छन्। प्रत्येक राज्यको जनसंख्या अनुसार चुनावी कलेजहरू छन्। अमेरिकी राज्यहरू परम्परागत रूपमा रातो, नीलो र बैजनी राज्यहरू भनेर चिनिने तीन वर्गहरूमा विभाजित छन्।
रातो भनेको रिपब्लिकन पार्टीको प्रभुत्व भएको राज्य हो। निलो भनेको डेमोक्रेटिकको प्रभुत्व भएको राज्य हो र पर्पल स्टेटस भनेको कुनै पनि पार्टीको प्रभुत्व नभएको राज्य हो। धेरै हदसम्म यी राज्यहरूले राष्ट्रपतिको नाममा अन्तिम मोहर पनि लगाउँछन्। यी राज्यहरूलाई स्विङ राज्य पनि भनिन्छ।
अलाबामा, अलास्का, कन्सास, इन्डियाना, आयोवा, लुइसियाना, मिसिसिपी, मिसौरी मोन्टाना, नर्थ डकोटा, ओक्लाहोमा, साउथ क्यारोलिना, साउथ डकोटा जस्ता राज्यहरू रिपब्लिकन पार्टीकाे प्रभाव रहँदै आएकाे छ । रातो राज्यमा रिपब्लिकन पार्टीले सन् १९८० देखि नै लगातार जित्दै आएको छ ।
यता, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, मेरील्याण्ड, ह्याम्पशायर, न्यू जर्सी, न्यू मेक्सिको, न्यूयोर्क, भर्जिनिया, वाशिंगटनलगायत राज्यमा डेमोक्रेटिक पार्टीकाे बलियाे प्रभाव छ । सन् १९९२ देखि नै डेमोक्रेटिकले ति राज्यमा चुनाव जित्दै आएकाे छ ।
पर्पल स्टेटस भनेर चिनिने एरिजोना, फ्लोरिडा, जर्जिया, मिशिगन, मिनेसोटा, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कॉन्सिनलगायतमा भने कसैकाे प्रभाव छैन । जसलाई स्विङ राज्य पनि भनिन्छ । जसकाे मत नै निर्वाचित हुन निर्णायक मानिन्छ ।
स्विङ स्टेटमा कुनै एक दलको वर्चस्व नभएकाले यहाँ रिपब्लिकन र डेमोक्रेटिक दुवैले आफ्नो पूर्ण शक्ति लगाएका छन् । डोनाल्ड ट्रम्प र कमला ह्यारिसले बारम्बार स्विङ स्टेटको भ्रमण गरी मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेका छन्।
पछिल्लो सर्वेक्षणमा स्विङ स्टेटसमा डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा देखिएको छ । फ्लोरिडा, जर्जिया र एरिजोनामा डोनाल्ड ट्रम्प अगाडि छन् भने मिशिगन, विस्कन्सिन र नेभाडामा ह्यारिसको अलिकति अग्रता छ । यस्तो अवस्थामा स्विङ स्टेटसले नतिजामा महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ ।
दुवै उम्मेदवारले सुरूदेखि नै स्विङ राज्यलाई ध्यान दिएका थिए । हुन पनि एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, उत्तरी क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा कुल ९३ इलेक्टोरल भोट छ । जुन निर्वाचित हुन निर्णायक भाेट हाे ।
यी तीन राज्य पेन्सिल्भेनिया, मिशिगन र विस्कन्सिन हुन् । यी तीन राज्यलाई ‘ब्लु वाल’ पनि भनिन्छ। यी तीन राज्यमा कुल इलेक्टोरल भोट ४४ छ । दुवैको जितमा यी तीन राज्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
विगतको नतिजालाई हेर्ने हो भने ह्यारिसले सहजै २२६ इलेक्टोरल मत ल्याउने लगभग निश्चित छ भने उनलाई कम्तीमा थप ४४ इलेक्टोरल मत आवश्यक पर्ने देखिन्छ । यता, ट्रम्पले कम्तीमा २१९ इलेक्टोरल मत पाउने निश्चितजस्तै छ । उनका लागि अब राष्ट्रपतिमा निर्वाचित हुन कम्तीमा थप ५१ इलेक्टोरल मत चाहिन्छ ।
के छ चुनावी प्रक्रिया ?
अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा राष्ट्रपति र संसदका सदस्यहरू (कांग्रेस) चयन गर्न मतदानमा भाग लिनेछन्। वास्तवमा, अमेरिकी जनताले राष्ट्रपति र उपराष्ट्रपति कसलाई चाहन्छन् भनेर प्रत्यक्ष रूपमा मतदान गर्दैनन्। बरु तिनीहरूले समूहका सदस्यहरूलाई मतदान गर्छन्, जसलाई इलेक्टोरल कलेज भनिन्छ । पछि इलेक्टोरल कलेजले नै राष्ट्रपति र उपराष्ट्रपति चयन गर्छन्।
इलेक्टोरल कलेज भनेको कम मत प्राप्त गर्ने उम्मेदवारले पनि चुनाव जित्न सक्ने प्रणाली हो। अमेरिकी इतिहासमा जनताले दिएको ‘पपुलर भोट’ बिना नै राष्ट्रपतिको चुनाव जितेका पाँच जना राष्ट्रपति छन् । त्यसो गर्ने सबैभन्दा पछिल्लो राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनले सन् २०१६ मा चुनाव जितेका थिए ।
इलेक्टोरल कलेज अमेरिकी चुनावमा महत्त्वपूर्ण प्रक्रिया हो। इलेक्टोरल कलेज मार्फत अमेरिकी नागरिकहरूले अप्रत्यक्ष रूपमा आफ्नो राज्यका निर्वाचकहरू मार्फत राष्ट्रपति र उपराष्ट्रपति चयन गर्छन्। यसलाई नेपालकाे सन्दर्भमा रूपमा बुझ्दा जनताले आफ्नो क्षेत्रबाट संघीय सांसद चयन गर्छन् र पछि यही सांसदले प्रधानमन्त्री चुन्छन्। तर, अमेरिकी दृष्टिकोणबाट निर्वाचन प्रक्रिया निकै जटिल छ ।
यसरी अमेरिकी जनताले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न इलेक्टोरल कलेजलाई मतदान गर्छन्। पछि, यी मतदाताहरूले राष्ट्रपति र उपराष्ट्रपति पदका लागि आफूले छानेका उम्मेदवारहरूलाई समर्थन गर्छन्।
अमेरिकामा कुल ५३८ मतदाता छन्। यी मध्ये, त्यहाँ सबै ५० अमेरिकी राज्यहरूको जनसंख्याको आधारमा ५३५ मतदाता र अमेरिकी राजधानी वाशिंगटन, डीसी (डिस्ट्रिक्ट अफ कोलम्बिया) बाट तीन अतिरिक्त निर्वाचकहरू छन्।
कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो।
राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । सँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन्।
‘इलेक्टोरल कलेज’ शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकहरूको समूहलाई बुझाउँछ। अमेरिकामा ती व्यक्तिलाई ‘इलेक्टर’ भनिन्छ।
यो प्रणाली राष्ट्रपति निर्वाचनमा मात्र प्रयोग हुन्छ। अरू निर्वाचनमा लोकप्रिय मतका आधारमा नै परिणाम आउँछ। एजेन्सीहरूकाे सहयाेगमा