बढेन नेप्से, अबको यात्रा कता ?-Sutra News

बढेन नेप्से, अबको यात्रा कता ?

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । नेप्से ०.२१ अंकले घट्दै २६७७.४० को बिन्दुमा झरेको छ ।



झिनो अंकले नेप्से घट्दै गर्दा कारोबार रकम पनि घटेको छ । मंगलबार ९७ लाख १३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको भयो । जुन केही कारोबार दिनयताकै कम हो ।

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये ११३ को मूल्य बढ्दा १२४ को मूल्य घट्यो । ६ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

झिनो अंकले नेप्से घटे पनि आज ४ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि भयो । सुपर मैको मूल्य १० प्रतिशतले बढ्दा समाज लघुवित्त, युनाइटेड मोदी र गुराँस लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो ।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स, सानिमा जिआइसी इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्सलगायत शीर्ष स्थानमा रहे । नेपाल फाइनान्सको मात्रै कारोबार रकम २९ करोड ९० लाख रुपैयाँ बराबरको भएको छ ।

तिहारअघिको अन्तिम कारोबार दिन कात्तिक १४ मा १४.४३ अंकले घट्दै नेप्से २६७७.६२ को बिन्दुमा झरेको थियो । जुन गिरावटलाई सामान्य करेक्सनको रुपमा व्याख्या गरिएको थियो ।

यद्यपि, तिहारपछिको पहिलो कारोबार दिनको कारोबार तहले भने लगानीकर्तामा मनोविज्ञान अन्योलपूर्ण भएको देखाउँछ । बजार बढ्ने अनुमानका बिच सामान्य उतारचढावसँगै झिनो अंकको गिरावटले लगानीकर्ता स्पष्ट नभएको देखाएको हो । जसमा चाडपर्वको प्रभाव कायमै रहेको पनि संकेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट