काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा ११ जनाको नाम सिफारिस गरेको छ । नाममा सहमति जुटाउन नसकेपछि समितिले दिवंगत मेयर राजकुमार नकर्मीकी पत्नी जमुना नकर्मीसहित ११ जनाको नाम सिफारिस गरेको हो ।
नगर समितिले नगर सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाएको छ । सूचीमा दिवंगत मेयर पत्नि जमुना नकर्मीको भने नाम चौथोमा छ ।
समितिले बद्रीलाल महर्जन, हिमाल कार्की, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ । सोहीअनुसार नगर समितिले नाम सिफारिस गरेको हो ।
आकांक्षी धेरै देखिएको कारण प्रदेशलाई नाम टुंग्याउन सहज देखिन्न । दलहरुले स्थानीय तहको चुनावलाई शक्ति मापन गर्ने उपायको रुपमा पनि लिएका छन् । जसअनुसार कांग्रेसभित्र उम्मेदवार चयन सहज देखिन्न ।
कीर्तिपुरको मेयरमा सत्तारुढ एमाले, प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र राप्रपाले उम्मेदवार तय गरिसकेका छन् । एमालेले डा. सुरेन्द्र मानन्धर उम्मेदवार बनाएको छ भने माओवादी केन्द्रले प्रा.डा. शिवलाल महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाबाट पूर्वमेयर इन्जिनियर ध्रुर्व महर्जन उम्मेदवार तय भइसकेका छन् ।