काठमाडौं । तिहारको लक्ष्मीपूजाको अवसरमा रिलिज भएको नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजको पाँच दिनमै झण्डै पाँच करोड रुपैयाँ कमाई गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार फिल्मले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो ।
फिल्मले गरेको ग्रस कलेक्सनअनुसार सोमबारसम्म नै निर्माताले पाँच दिनमै २ करोड नेट आम्दानी गरेका छन् । निर्माताले लगानीसमेत उठाउँदै नाफा कमाएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको थियो ।
रिलिजको सुरुवातीमा दर्शक अकुपेन्सी कम रहेपनि फिल्मले शनिबारदेखि भने आक्रामक व्यापार गरिरहेको छ । दर्शकको चापसँगै हलहरुले शो थपिरहेका छन् ।
मंगलबार पनि फिल्मले २०० भन्दा धेरै शो पाएको छ । टिकट बिक्री हेर्दा फिल्मले मंगलबार पनि आक्रामक कमाई गर्ने प्रक्षेपण वितरकको छ ।
स्वेदशसँगै फिल्म विदेशका हलहरुमा पनि फिल्म प्रदर्शन सुरु गरिएको छ । मंगलबारदेखि जापानको टोकियोको नाकानो जिरो हलमा फिल्म प्रदर्शन गरिएको छ । जहाँ सुरुवाती शो नै हाउसफूल रहेको थियो ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल र प्रकाश सपूतको मूख्य अभिनय छ । सँगै, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको पनि अभिनय देख्न पाइन्छ ।
गन्धर्व समुदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबुछोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा भनिएको छ ।
फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।