पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न-Sutra News

पृथ्वी राजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

मंगलबार, २० कार्तिक २०८१

मंगलबार, २० कार्तिक २०८१

काठमाडौँ । मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो ।



तिहारको समयमा पनि काम भएको आयोजनाको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । “यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको छ,” उनले भने, “चाडवाड सकियो अब निर्माणले झन् गति लिन्छ ।”

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका ४ को दमौली बजार र व्यास ५ को चापाघाट जोड्ने मादी नदी पुलको निर्माणको भौतिक प्रगति ४५ प्रतिशत पुगेको उनको भनाइ थियो । तीन सय १५ मिटर लामो यस पुल ‘आर्क डिजाइन’को चार लेनको हुनेछ ।

पर्यटक पनि आकर्षित गर्ने भनी कलात्मक निर्माण गर्न लागिएको ठेकेदार कम्पनीका साइट इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिए । पुलको सात वटा ‘फाउन्डेसन’ निर्माण गरिएको छ ।

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाको पूर्वी खण्डका इन्जिनियर पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेपालमै पहिलोपटक चार लेनको पुल निर्माण भइरहेको र तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ ।

निर्माणाधीन सोही पुल नजिक दुई लेनको तीन सय ७० मिटर लामो पुलबाट हाल सवारी आवतजावत भइरहेका छन् । कूल ८१ किलोमिटर लम्बाइ रहेको मुग्लिन-पोखरा सडकको विस्तार विसं २०७८ वैशाखदेखि सुरु भएको हो । हाल उक्त राजमार्ग दुई लेनको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट