काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हात पारेका छन् । नोभेम्बर ६ मा भएको मतगणनामा ट्रम्पले बहुमतको आँकडा पार गरेका हुन् ।
फक्स न्यूजले जनाएअनुसार अमेरिकी राष्ट्रपतिय निर्वाचनमा ट्रम्पले २७७ इलेक्टोरल कलेज पाएका छन् भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला हैरिसले २२६ इलेक्टोरल कलेज पाएकी छिन् । कुनै पनि उम्मेदवारले चुनाव जित्नका लागि कुल ५३८ इलेक्टोरल भोटमध्ये २७० मत प्राप्त गर्नुपर्नेछ। जसअनुसार ट्रम्पले जित हात पारिसकेका छन् ।
३५ भोटको भने नतिजा आउन बाँकी छ । जसमा पनि ट्रम्प नै अगाडि छन् । लिड गरेका ठाउँमा जित हात पारेमा ट्रम्पले ३१२ सिट प्राप्त गर्नेछन् ।
विशेषगरी अमेरिकी चुनावमा ७ राज्यलाई ‘स्वीङ स्टेट’ भन्ने गरिन्छ । जसको नतिजालाई नै आधारमा मानेर जित वा हारको अनुमान लगाइने गरिन्छ । जसमा पनि ट्रम्प अगाडि देखिए । सबैले ध्यान दिएको पेन्सेल्वेनियामा ट्रम्पले जित हात पारे ।
ट्रम्प यसअघि २०२० को चुनावमा पनि उम्मेदवार बनेका थिए । उक्त चुनावमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बिडेनसँग हारेका थिए । सन् २०२० मा बिडेनले ३०६ मत ल्याएर विजयी हुँदा ट्रम्पले २३२ मत पाएका थिए । पपुलर भोटमा पनि बिडेन नै अगाडि थिए ।
ट्रम्प पहिलो पटक सन् २०१६ मा भएको राष्ट्रपतिय निर्वाचनमा निर्वाचित भएका थिए । उनले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टलाई हराएका थिए ।
यसपटक ट्रम्पले मात्रै जितेका छैनन्, उनको पार्टी रिपब्लिकनले पनि संसदमा बहुमत जुटाएको छ । संसदमा रिपब्लिकन पार्टीका ५१ र डेमोक्रेटिक पार्टीका ४२ उम्मेदवार विजयी भएका छन् ।