काठमाडाैं । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावमा जित हासिल गरेपछि नागरिकलाई सम्बोधन गरेका छन् । उनले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकहरूलाई सम्बाेधन गरेका हुन् ।
अमेरिकाको ४७ औँ राष्ट्रपति बन्न लागेका ट्रम्पले नागरिकलाई सम्बोधन गर्दै अविश्वसनीय राजनीतिक विजय हासिल गरेकाे बताएका छन् । उनले इतिहास बनाउने अवसर पाएकाे पनि बताएका छन् ।
‘यो यस्तो आन्दोलन हो, जुन अहिलेसम्म कसैले देखेको छैन, इमानदारीपूर्वक भन्नुपर्दा, मलाई विश्वास छ कि यो अहिलेसम्मको सबैभन्दा ठूलो राजनीतिक आन्दोलन थियो, यो देशमा र सायद यसभन्दा बाहिर यस्तो कहिल्यै भएको छैन’, उनले भनेका छन्, ‘हामीले आज इतिहास बनायौं र त्यो कारण मात्र हो कि हामीले बाधाहरू पार गर्यौं जुन कसैले सोचेको पनि थिएन, यो एकदम स्पष्ट छ कि हामीले सबैभन्दा अविश्वसनीय राजनीतिक विजय हासिल गरेका छौं । याे अवसरलाई इतिहासमा दर्ज गर्नेछाैं ।’
आफू हरेक नागरिकलाई जिताउन लड्ने बताएका छन् । ‘हामी हाम्रो देशलाई निको पार्न मद्दत गर्नेछौं, म हरेक नागरिकका लागि लड्नेछु, म तपाईं र तपाईंको परिवारका लागि लड्नेछु’, उनले भनेका छन् ।
उनले सिनेटमा पाएकाे बहुमतकाे अवस्था अविश्वसनीय रहेकाे बताए । डोनाल्ड ट्रम्पले भने, ‘सिनेटमा जितको संख्या अविश्वसनीय थियो। यो कसैले अपेक्षा गरेका थिएनन्। प्रतिनिधिसभामा पनि हाम्रो नियन्त्रण कायम रहने देखिन्छ ।’
ट्रम्पले चुनावी अभियानकाे क्रममा आफूलाई सघाउनेप्रति कृतज्ञता व्यक्त गरेका छन् । एलन मक्सकाे सहयाेगप्रति समेत उनले कृतज्ञ रहेकाे बताए । उनले एलन मक्सकाे याेजनामा आफ्नाे सरकारले सहयाेग गर्ने उनकाे भनाइ छ ।