काठमाडौं । तिहारपछिको दोस्रो कारोबार दिन पनि सेयर बजार परिसूचक (नेप्से) झिनो अंकले घटेको छ । बुधबार १.८८ अंकले घट्दै नेप्से २६७५.५१ को बिन्दुमा झरेको छ ।
झिनो अंकले नेप्से घटेपनि कारोबार रकम भने बढ्यो । १ करोड १६ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको भयो । जुन मंगलबारको भन्दा केही बढी हो । मंगलबार कारोबार रकम चार अर्बमै सीमित भएको थियो ।
सूचक घटेपनि आज कारोबारमा आएका धेरैजसो कम्पनीको मूल्य बढ्यो । कारोबारमा आएक २४४ कम्पनीमध्ये १२१ को मूल्य बढ्यो भने ११७ को मूल्य घट्यो । ६ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
नारायणी विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लाग्दा बलेफी हाइड्रो र पिपुल्स हाइड्रोको मूल्यमा नौ प्रतिशतभन्दा बढीको बृद्धि भयो । समृद्धि फाइनान्सको मूल्य ८.७९ प्रतिशतले बढ्दा राप्ती हाइड्रोको मूल्य ७.८० प्रतिशतले बढ्यो ।
तिहार सकिएसँगै छठको रौनक जागेको छ । छठ बिदाको कारण बिहीबार पनि नेप्से बन्द हुनेछ । बजारमा देखिएको अवस्था चाडपर्वको प्रभावको रुपमा रहेको मान्न सकिन्छ । सँगै केही लगानीकर्ता केही अन्योलका कारण पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ ।