काठमाडौँ । आईसीसी महिला यु १९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुआत गरेको छ ।
युएईको द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।
नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले रन जोड्न सकेनन् ।
नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले चार विकेट लिइन् । कप्तान पूजा महतो र रिया शर्माले समान दुई दुई विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९ १९ रन बनाए ।
थाइल्यान्डका लागि चारुकन साइमाले दुई तथा सुनिसा बोङ्कोडफोंगम्पाईले एक विकेट लिइन् ।