काठमाडौँ । तिहारको लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले रिलिजको छटौँ दिनमा सात करोडभन्दा बढीको व्यापार गरेको छ ।
यो फिल्मले नेपाली फिल्मको रेर्कड तोड्ने मात्र नभए ठूला बजेटमा बनेका बहुप्रतिक्षित बलिउड फिल्म ‘सिङ्गघम अगेन’ र ‘भुलभुलैया ३’लाई निकै पछाडि पारेको छ ।
सुरुवाती दिनमा सुस्त व्यापार गरेको फिल्मले दर्शकको मन जितेसँगै ‘वर्ड अफ माउथ’का कारण तीव्र गतिमा व्यापार गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेण्टका अनुसार फिल्मले सोमबारसम्म चार करोड ८७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो । फिल्मले मंगलबार मात्रै दुई करोड बढी व्यवसाय गरेको वितरक ब्यांकटेस इन्टरटेनमेन्टका मनोज राठीले जानकारी दिए ।
‘फिल्मले दिन प्रतिदिन नसोचेको व्यवसाय गरिरहेको छ’, राठीले भने, ‘यसको व्यावसायिक रफ्तार हेर्ने हो भने अहिलेसम्म नेपाली फिल्मले बनाएको सबै रेकर्ड तोड्छ ।’
सुरुमा थोरै शोबाट सुरु भएको फिल्मले अहिले अत्यधिक शो पाउँदासमेत दर्शकले टिकट पाउन मुस्किल भएको छ । एक करोड ३० लाखमा निर्माण भएको फिल्मले अहिले दुई सयभन्दा धेरै शो पाइरहेको छ । शोको हिसाबले यो फिल्मको उच्च मानिन्छ ।
स्वेदशसँगै विदेशका हलमा पनि फिल्म प्रदर्शन सुरु गरिएको छ । मंगलबारदेखि जापानको टोकियोमा फिल्म प्रदर्शन गरिएको छ । जहाँ सुरुवाती शो हाउसफूल रहेको थियो ।
सरोज पौडेलले निर्देशन गरेको फिल्ममा विजय बराल र प्रकाश सपूतको मुख्य अभिनय छ । यसैगरी मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको अभिनय देख्न पाइन्छ ।
गन्धर्व समूदायको कथामा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा बाबु छोराको सम्बन्ध, छोराको सफलताका लागि बाबुले गरेको संघर्षको कथा बुनिएको छ ।
फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी छन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।