काठमाडाैं । कतिपय पर्यवेक्षकहरूका अनुसार डोनल्ड ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालले यसपटक उनले कसरी सत्ताको नेतृत्व गर्छन् भन्ने सङ्केत दिन्छ। उनीहरू राष्ट्रपति ट्रम्प सन् २०२० मा आफ्नो पहिलो कार्यकाल सकिएकै बिन्दुबाट अघि बढ्ने ठान्छन्।
उनको पूरा नभएको एउटा प्रमुख परियोजना भनेको अमेरिकाको दक्षिणी सीमा बन्द गर्ने थियो। त्यसबेला ट्रम्प कंग्रेसबाट मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माण गरेर सीमा नियन्त्रण गर्नका लागि बजेट जुटाउन विफल भएका थिए। चुनावी अभियानका समयमा गरिएको पर्खाल निर्माण अघि बढाउने प्रतिबद्धतालाई उनले यसपाली कायम राख्ने ठानिएको छ।
गैरकानुनी आप्रवासीलाई सामूहिक देश निकाला
राष्ट्रपति ट्रम्पले अमेरिकामा बस्न कानुनी रूपमा अनुमति नपाएका व्यक्तिहरूलाई सामूहिक देशनिकाला गर्नका लागि कंग्रेसको समर्थन खोज्ने सम्भावना छ। पीउ रिसर्च सेन्टरका अनुसार सन् २०२२ मा अमेरिकामा १ करोड १० लाखजना अनधिकृत आप्रवासीहरू रहेका थिए। तर ट्रम्प र उनको अभियानले त्यहाँ दशौँ लाख त्यस्ता व्यक्तिहरू रहेको दाबी गरिरहेका छन्।
विज्ञहरूले ठूलो स्तरमा आप्रवासीहरूलाई देश निकाला गर्नु खर्चिलो हुने र त्यसको कार्यान्वयन गर्न कठिन हुने बताइरहेका छन्। उनीहरूले कागजातविहीन आप्रवासीले प्रमुख भूमिका खेल्ने अर्थतन्त्रका निश्चित क्षेत्रमा पनि त्यसले असर पार्ने धारणा राखिरहेका छन्।
जुलाईमा रिपब्लिकन दलबाट राष्ट्रपति पदको उम्मेदवारको मनोनयन स्वीकार गर्दा ट्रम्पले ‘भयावह मुद्रास्फीतिको सङ्कट तत्कालै समाधान गर्ने, ब्याजदरहरू घटाउने र ऊर्जाको मूल्य कम गर्ने’ वाचा गरेका थिए। सन् २०१७ मा आफूले कार्यान्वयनमा ल्याएको तर अर्को वर्ष समाप्त हुन लागेको खर्च कटौतीलाई उनी विस्तार गर्न चाहन्छन्। त्यो दशकौँ यताको सबैभन्दा ठूलो कर पुनर्संरचना रहेको थियो जसले करका ‘कोड’ लाई सरलीकरण गर्ने अनि वृद्धि एवं लगानीलाई विस्तार गर्ने लक्ष्य राखेको थियो।
सबैभन्दा ठूलो छुट व्यवसायी र धनीहरूले पाएका थिए र त्यो उल्टाउन डेमोक्र्याटहरूमाथि दबाब परिरहेको थियो। ट्रम्पले कर्पोरेट दरलाई अझ घटाएर १५ प्रतिशतमा कायम राख्ने र टिप्स र अवकाशप्राप्त व्यक्तिहरूलाई दिने सामाजिक सुरक्षा भुक्तानीको कर हटाउने अपेक्षा गरिएको छ।
बढ्न सक्छ व्यापार युद्ध
उनी थप तेल उत्खनन गर्न चाहन्छन् किनभने त्यसको उच्च मूल्यका कारण मुद्रास्फीति भएको उनको बुझाइ छ। त्यसो गर्दा ऊर्जाको मूल्य घट्ने भनिएको भएपनि विश्लेषकहरूले आशङ्का व्यक्त गर्ने गरेका छन्। उनले आफूले विदेशबाट आउने अधिकांश सामाग्रीमा १० देखी २० प्रतिशत कर लगाउने योजना रहेको बताएका छन्। चीनबाट आयात गरिने सामानहरूमा ६० प्रतिशत कर लगाउने योजना छ। धेरै अर्थविद्हरूले त्यस्तो कदमले अमेरिकी उपभोक्ताहरूलाई उच्च मूल्य तिर्न बाध्य बनाउने चेतावनी दिएका छन्।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले बेइजिङसँग ‘व्यापार युद्ध’ सुरु गरेका थिए। त्यसबेला उनले ‘चीनले अनुपयुक्त व्यापार अभ्यास गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको’ आरोप लगाएका थिए।
अब अमेरिकी कंग्रेसको स्वरूप कस्तो हुनेछ त्यसले राष्ट्रपति ट्रम्पले आफूले चाहेका नीति लागु गर्न सक्छन् या सक्दैनन् भन्ने निर्धारण गर्नेछ। सन् २०१७ देखि सन् २०१९ सम्म रिपब्लिकनहरूले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्स दुवैमा नियन्त्रण कायम राखेका थिए।
तर त्यो बेला क्यापिटल हिलमा नयाँ व्यक्तिका रूपमा ट्रम्प कंग्रेसको कार्यशैलीप्रति जानकार नरहेका जस्ता देखिएको र कंग्रेसमा रहेको बहुमत अनि ह्वाइट हाउसमा रहेको रिपब्लिकन लाभको प्रयोग प्रमुख नीतिगत जीतका लागि गर्न नसकेको विश्लेषकहरूले बताउने गरेका छन्।
गर्भपतनमाथिको प्रतिबन्ध
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशहरूको नियुक्ति गरेका थिए जसले ‘रो विरुद्ध वेड’ का नामले चर्चित सन् १९७३ को गर्भपतनलाई संवैधानिक अधिकार मान्ने एउटा फैसलालाई उल्टाएको थियो। त्यही भएर धेरै जनाले राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा के गर्लान् भनेर चासो व्यक्त गरिरहेका छन्।
सेप्टेम्बरमा कमला ह्यारिससँगको टेलिभिजन बहसका क्रममा उनले गर्भपतनमाथिको सङ्घीय प्रतिबन्धमा हस्ताक्षर नगर्ने बताएका थिए। “प्रतिबन्धमाथि हस्ताक्षर गर्नु जरुरी छैन किनभने हामीले सबै जनाले चाहेको कुरा पाइसकेका छौँ।”
एक्लै हिँड्ने विदेश नीति
विदेश नीतिमा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल पहिलोसँग मिल्दो जुल्दो हुने आकलन गरिएको छ। उनले विश्वका अन्य ठाउँमा भइरहेको द्वन्द्वबाट अमेरिकालाई अलग गर्ने ठानिएको छ। उनले २४ घण्टाभित्रै रुससँगको संवादमार्फत युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन्। डेमोक्र्याटहरूले त्यस्तो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलियो बनाउने बताउने गरेका छन्।
ट्रम्पले आफूलाई इजरेलका प्रखर समर्थकका रूपमा उभ्याएका छन् तर उनले गाजा युद्ध अन्त्य गर्ने बताएका छन्। “म ट्रम्प राष्ट्रपति हुँदाको समय अरूको मामिलामा केन्द्रित नहुने र एकपक्षीय ढङ्गमा अघि बढ्ने अवस्था देख्छु जसले खासै योगदान गर्दैन बरु विश्वव्यापी अस्थिरतालाई अझ गहिरो बनाउँछ,” केही समय अघिसम्म संयुक्त राष्ट्र सङ्घका उपमहासचिव एवं मानवीय मामिला तथा आपत्कालीन उद्धार संयोजक रहेका अनुभवी द्वन्द्व मध्यस्थकर्ता मार्टिन ग्रिफिथ्सले भने।
पूर्व नेटो अधिकारी तथा युनिभर्सिटी अफ एक्सटरका स्ट्रयाटिजी तथा सेक्युरिटी सम्बन्धी प्राध्यापक जेमी से ट्रम्पको पहिलो कार्यकालको शैली ध्वंसात्मक रहेको ठान्छन्। “तर मूल रूपमा त्यहाँ धेरै परिमाणमा निरन्तरता रहेको थियो।”
“उनले अमेरिकालाई नेटोबाट फिर्ता गरेनन्। उनले अमेरिकी फौजहरूलाई युरोपबाट हटाएनन्। उनी युक्रेनलाई घातक हतियारहरू दिने पहिलो अमेरिकी राष्ट्रपति थिए।”
निरन्तरताको क्रम टुटाएर दुई कार्यकाल सत्तामा पुग्ने ट्रम्प अमेरिकी इतिहासकै दोस्रा राष्ट्रपति हुन्। सन् १८८५ देखी १८८९ सम्म राष्ट्रपति रहेका ग्रोभर क्लिभलेन्ड दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुन विफल भएका थिए। तर त्यसको चार वर्षपछि ताजा जनादेशबाट चुनिएका उनी सन् १८९३ देखी १८९७ सम्म अमेरिकाका राष्ट्रपति रहे। बिबिसीबाट