“काँचहि बाँस के बहंगिया, बहंगी लचकत जाए
हो छठी मइया, तोहार काँचहि बाँस के बहंगिया, बहंगी लचकत जाए ।”
कार्तिक महिनाको आगमनसँगै, छठ पर्वको रौनकले गाउँदेखि शहरसम्मको वातावरणलाई आस्थामय बनाउँछ । शारदा सिन्हाको “काँचहि बाँस के बहंगिया” गीतको मधुर धुनले यो पर्वको महत्वलाई थप विशेष बनाउँछ । नेपालका तराई क्षेत्र र भारतको बिहार, उत्तर प्रदेश, झारखण्डमा मनाइने यो पर्व अब अन्तर्राष्ट्रिय रूपमा विस्तार भइसकेको छ । मिथिला क्षेत्रका मानिसहरू विश्वको जुनसुकै कुनामा पुगे पनि छठ पर्वलाई हर्षोल्लासका साथ मनाउँदै आएका छन् । सूर्य देवता र प्रकृतिको आराधना गर्ने यो पर्व, अब अन्तर्राष्ट्रियस्तरमा फैलिँदै, आफ्नो सांस्कृतिक र आध्यात्मिक महत्वलाई सुदृढ गरिरहेको छ । सूर्य देवताको पूजा, जलाशयमा स्नान र प्रकृतिको आराधना गर्दै मनाइने यो पर्वमा कठोर अनुशासन, गहिरो आस्था र श्रद्धाको संगम हुन्छ, जसले यसलाई अन्य पर्वहरूभन्दा विशिष्ट बनाउँछ । सूर्य देवताको पूजा संसारका थुप्रै संस्कृतिमा पाइन्छ, तर छठ पर्वले सूर्यको आराधनामा एक अलग स्थान ओगटेको छ । छठ पर्वले मानिस र प्रकृतिको सम्बन्धलाई सुदृढ मात्र गर्दैन, यो आस्थाको त्यो प्रतीक हो, जसले मानव र प्रकृति (परमात्मा) को निकटतालाई पुनः पुष्टि गर्छ ।
छठ पर्वको इतिहास अति प्राचीन छ र यस पर्वको उत्पत्ति तथा विकास पौराणिक कथासँग जोडिएको छ । केही धार्मिक ग्रन्थहरूमा महाभारतका पात्र कर्णले सूर्यको आराधना गरेको वर्णन पाइन्छ, जसलाई छठ पर्वको आरम्भका रूपमा पनि हेर्ने गरिन्छ । यस्तै, अर्को पौराणिक कथाअनुसार, भगवान श्रीराम र माता सीता अयोध्या फर्कने क्रममा छठको व्रत गरेका थिए, जसले सूर्य र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्न छठ पर्वको चलन बसेको बताइन्छ ।
छठको पूजा कुनै मूर्ति वा विशेष देवताको हुँदैन, यसमा सूर्यलाई प्रत्यक्षरूपमा जलाशयमा उभिएर अघ्र्य चढाइन्छ । यो पर्वले प्रकृति र सूर्यका शक्ति तथा ऊर्जा प्रति कृतज्ञता प्रकट गर्ने मौलिकता राख्छ । यस पर्वमा माटो, बाँस, फलफूल, र गहुँको सत्तुजस्ता प्राकृतिक र स्थानीय उत्पादनको प्रयोग गरिन्छ । यसरी प्रकृतिप्रति आस्था र निर्भरता व्यक्त गर्ने यो पर्वको मौलिकता योसँग सम्बन्धित संस्कार, परम्परा र आस्थामा छ । तर अन्य चाडपर्व जस्तै छठको आफ्नो मौलिक पहिचानमा ह्रास हुँदै गएको छ । प्रकृतिको पुजाको गरिने छठमा, अहिले कर्पोरेट वर्ल्ड हाबी हुँदै गएको छ । स्थानीय उत्पादनहरूले भन्दा पनि कम्पनीका प्रोडक्टले बजार ओगटेको छ । जसले गर्दा एक समुदायको जीविकोपार्जनमा समस्या सिर्जना गरेको छ भने अर्को तिर छठको मौलिकता पनि घट्दै गएको छ ।
पहिलो दिन (नहाय–खाय)
यस दिनमा व्रतालुहरू स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन् । यसलाई आत्मशुद्धिको दिन मानिन्छ । व्रतालुले घरको सम्पूर्ण सरसफाइ गरी शुद्धताका साथ खाना खान्छन्, जसमा विशेषरूपमा चोखो खाना मात्र खाने परम्परा छ । यो दिन व्रतालुले स्नान पछि खानामा सजवैन (लौका)को तरकारी अनिवार्य रूपमा खानु पर्ने हुन्छ ।
दोस्रो दिन (खरना)
यो दिन व्रतालुले दिनभरि निराहार (बिना खानेकुरा वा पानी) व्रत बस्छन् र साँझमा विशेष प्रकारको प्रसाद (गुडको खीर र रोटी) ग्रहण गर्छन् । यो पर्वको मुख्य दिनहरूमध्ये एक हो । खरनाको प्रसाद (भोजन) ग्रहण गरेपछि व्रतालुले पुनः ३६ घण्टासम्म निर्जल व्रत बस्नुपर्ने प्रचलन छ । यस व्रतले व्रतालुको आत्मबल र धैर्यको परीक्षा लिन्छ ।
तेस्रो दिन (साँझको अर्घ्य)
यो छठ पर्वको मुख्य दिन हो । यस दिन व्रतालुले डुब्दै गरेको सूर्यलाई अर्घ्य अर्पण गर्दछन् । अर्घ्यको लागि व्रतालुले घरबाट नदी, तलाउ, पोखरीजस्ता जलाशयमा गएर पूजा गर्छन् । अर्घ्य अर्पण गर्दा व्रतालुहरूले प्रसादका रुपमा गहुँको पिठोबाट बनेको ठेकुवा, चामलको पीठोबाट बनेको भुसुवा, फलफूल र आफ्नै खेतबारीमा उब्जनी भएका तरकारी, अन्नबाली लगायत अन्य सामग्री जलमा अर्पण गर्छन् । यो दिन व्रतालुहरू र तीर्थालुहरू जलाशयको किनारमा जम्मा भएर आरती, पूजा र भजनकीर्तनमा सामेल हुन्छन् । यो दिन व्रतालुहरू रातभर जाग्राम बस्छन् र विशेष प्रकारको गीत गाएर सूर्यको गुणगान गाउँछन् ।
चौथो दिन (बिहानीको अर्घ्य)
अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर व्रतालुले छठ पर्व समाप्त गर्छन् । यो दिन व्रतालुले फेरी जलाशयमा उभिएर सूर्यलाई प्रसाद चढाउँछन् र यो दिनको पूजापश्चात् आफन्त, परिवारजन र छिमेकीसँग प्रसाद वितरण गर्ने प्रचलन रहेको छ ।
छठ पर्वको महत्व सामाजिक र सांस्कृतिक दृष्टिकोणबाट पनि ठूलो छ । यसले हिन्दू समुदाय मात्र नभई अन्य सम्प्रदायलाई पनि एकता, भाइचाराको भावनामा बाँध्छ । यस पर्वमा सामूहिक रूपमा पूजा र अर्घ्य अर्पण गर्ने परम्पराले विभिन्न वर्ग र जातिका मानिसलाई एकसाथ ल्याउँछ । छठ पर्वले समाजमा सहअस्तित्व, मिलेमतो र सामूहिकता प्रोत्साहन गर्दछ । सामाजिक पक्षको अर्को महत्वपूर्ण पक्ष भनेको महिला सशक्तीकरण हो । छठ पर्वमा महिला र पुरुष दुवै समान रूपमा पूजा गर्छन् । महिलाको भूमिका र सहभागिता यस पर्वमा विशेष महत्वपूर्ण मानिन्छ ।
आधुनिकता सँगसँगै अरू चाडपर्व जस्तै छठ पर्वको मौलिकता पनि असर परेको छ । जस्तैमा छठमा चढाउने प्रसादहरुमा पनि व्यापक परिवर्तन आएको छ । गहुँको पिठोमा, दुध, शखर, सौप मिसाएर बनाइने ठेकुवाको ठाउँ मैदा बाट बनाइने खजुरीले लिदैं छ । त्यस्तै चामलको पीठोलाई घ्यूमा भुनेर, शखर, छोहोरा, काजु, किसमिस, सौप र नरिवल मिसाएर बनाउने भुसुवा हामी मध्ये कतिले चाख्न नि पाएका छैनौं होला । पाउनु पनि कसरी, भुसुवाको ठाउँ बुनियाको लड्डु जो आइसकेको छ ।
छठ पर्वको समय स्थानीय बजार, मेला र पसलहरूमा व्यापारीक गतिविधि अत्यन्तै बढ्छ । विशेषगरी फलफूल, पूजा सामग्री, माटोका भाँडाकुँडा, बाँसका टोकरीहरू, बाँसका चोयाबाट बनेका सूप, कोनिया, दउरा र अन्य आवश्यक सामग्रीहरूको व्यापार हुने गर्दछ । बजारमा स्थानीयरूपमा उत्पादित फलफूलको खपत अत्यधिक मात्रामा हुने गर्दछ जसले किसान र स्थानीय व्यापारीहरूलाई आर्थिक लाभ पुर्याउँछ । तर अहिलेको समयमा आधुनिकता र प्रविधिको प्रभाव छठ पर्वमा स्पष्ट देख्न सकिन्छ । पहिले साधारणरूपमा सम्पन्न गरिने यो पर्वलाई आजकल विशेष गरी सजावट, फेन्सी वस्त्र, कृत्रिम फूलमालाले सजाइने गरेको छ । बाँसबाट सुप, कोनिया, दउरा बनाएर वर्ष भरि जीविकोपार्जन गर्ने मरिक (डोम) समुदायको व्यावसाय नै संकटमा छ ।
बाँसबाट बनेको भाँडाकुँडा ठाउँमा तामा, पितल, स्टिल, चाँदी आदिबाट बनेको समानको उपयोग बढ्दै गएको छ । हाम्रा पूर्खाहरूले रचेको परम्परा, संस्कृति हरेक समुदाय सँग अन्तरनिहित छ । एक अर्कोको जीविकोपार्जन हुन् सक्ने गरि निर्माण गरिएको छ । छठमा चाहिने पुजा समाग्री हरू मरिक, कुमाल, कृषक आदि समुदायले पुर्ति गर्ने गर्छ । तर पछिल्लो समयमा यी समुदायहरूको पेशा संकटमा परेको छ । सामूहिक रूपमा पूजा गरिने ठाउँमा बिजुली बत्ती, माइक तथा लाउडस्पीकर प्रयोग गरेर भजन कीर्तन सञ्चालन गरिन्छ । आधुनिकताको प्रभावले केही नकारात्मक पक्षहरू पनि ल्याएको छ । उदाहरणका लागि, यस पर्वमा प्रयोग गरिने कृत्रिम वस्तुहरूले पर्यावरणमा नकारात्मक प्रभाव पुर्याइरहेका छन् । छठ पर्वको समयमा जलाशयहरूमा बढ्दो प्रदूषणले यस पर्वको पवित्रता र मौलिकतामा असर पुर्याएको छ ।
छठ पर्व प्रकृति र पर्यावरणसँग गहिरो रूपमा सम्बन्धित छ । जलाशयमा पूजा गर्ने परम्पराले मानिसहरूलाई जलाशयको संरक्षण र सफाईतर्फ सचेत गराएको छ । तर पछिल्ला वर्षहरूमा बढ्दो जनसंख्या र प्रदूषणले जलाशयको अवस्था बिग्रँदै गएको छ । आजकल पर्यावरणीय सङ्घसंस्थाहरू, स्वयंसेवी समूहहरूले छठ पर्वको अवसरमा जलाशय सफाई र व्यवस्थापनका कार्यक्रमहरू आयोजना गरेर यस पर्वलाई अझ वातावरणमैत्री बनाउने प्रयास गरिरहेका छन् । यि प्रयासहरू एक दिनका लागि मात्र नभएर वर्षै भरि कसरी सफा राख्न सकिन्छ भनेर दिर्घकालिन योजना अनुरूप काम हुनुपर्छ । जसले अहिलेका र आउने पुस्तालाई पर्यावरण, जल संरक्षण, प्रकृतिको महत्व आदिलाई पनि दर्शाउन सक्नुपर्छ ।
छठ हामी हाम्रो घरमै पनि गर्न सक्थ्यौं तर हाम्रा पुर्खाले किन सार्वजनिक जलाशयमा गएर मनाउन सुरू गरे, कहिले हामीले यस विषयमा मनन् गरेको छौं ? छैन् । कि गर्ने, वर्षमा एक चोटी आउने हो,त्यो पनि एक दिनको लागि । किन टाउको दुखाई रहने । हामी जति जति आधुनिक हुँदै छौं, त्यति नै स्वार्थी पनि हुँदै छौँ । हामी हाम्रो सार्वजनिक जलाशय जस्तै नदी, नहर, खोला, ताल, पोखरी,लाई कहिले नजिक गएर नियालेर हेर्ने गरेको छ, छठ बाहेकका दिनमा ? छैन् । यिनीहरु हाम्रो लागि वर्ष दिन घरको फोहर फाल्ने डम्पिङ साईट हुन् । त्यहीँ डम्पिङ साईटलाई सफा गरेर, हामी हाम्रो परिवारको दिर्घायु, कामना गर्दछौं । हाम्रो परिवार दिर्घायु भैरहँदा कति खोला, नदी, नहर, ताल पोखरीको मृत्यु भैसक्यो । जलाशय हरुमा जल बग्नु पर्छ तर हाम्रो जलाशय हरुमा हामीले हाम्रो फोहोर बगाइरहेका छौं । छठको लागि सफाई गरिएको जलाशय हरु के हामी सधैँ सफा र स्वच्छ राख्न सक्दैनौँ ? सकिन्छ । जलाशयमा सफा र स्वच्छ जल बाहेक, सबै थोक बागि रहेको छ ।
आध्यात्मिकता र मानव जीवनमा प्रभाव
छठ पर्वको सबैभन्दा ठूलो विशेषता भनेको यसले आध्यात्मिकता र आस्थालाई जीवन्त बनाउनु हो । व्रतालुले कठोर अनुशासन र पवित्रताका साथ व्रत गर्नु, आफ्ना सम्पूर्ण क्रियाकलाप शुद्धतामा आधारित राख्नु र कृतज्ञतापूर्वक सूर्यदेवको आराधना गर्नु यस पर्वको विशेष पक्ष हो । यस पर्वले मानसिक शान्ति, समर्पण र धैर्यको भावनालाई प्रवर्द्धन गर्दछ । विशेषगरी महिलाहरूले यो पर्वमा आफ्ना इच्छाहरू, संकल्पहरू राख्ने गर्दछ र आफ्नो परिवार, सन्तान तथा जीवनको कल्याणका लागि आराधना गर्ने परम्परा छ । छठ पर्वले नेपालको तराई, भारतका केही राज्यहरूमा मात्र नभई विश्वभर बसोबास गर्ने हिन्दु समुदायमा पनि आफ्नै स्थान बनाएको छ । यस पर्वको महत्वले परम्परागत तथा सांस्कृतिक मूल्यहरूलाई जीवन्त राख्न मद्दत पुर्याइरहेको छ । छठ पर्वले समाजिक एकता, आर्थिक वृद्धि र पर्यावरणीय सन्देश दिँदै धार्मिक आस्था र परम्परालाई समेटेको छ ।
यस पर्वलाई आधुनिक प्रविधि र विकाससँग सन्तुलन मिलाउँदै यसलाई अझ पर्यावरणमैत्री, समाजमूलक र सुसंस्कृत बनाउने जिम्मेवारी हामी सबैको हो । छठ पर्वले धार्मिक आस्था, समाजिक सद्भाव, र प्राकृतिक संरक्षणका दृष्टिले महत्वपूर्ण योगदान दिएको छ । यसको मौलिकता, कठोर व्रत र परम्परागत विधिले यस पर्वलाई अद्वितीय बनाएको छ । समाजमा भाईचारा, एकता र वातावरणप्रतिको जिम्मेवारीलाई थप बलियो बनाउन यो पर्वले ठूलो भूमिका खेल्छ ।
अहिलेको समयमा आधुनिकताले यस पर्वको स्वरूपमा केही परिवर्तन ल्याए पनि यसको मौलिकता र परम्परागत पक्षलाई जोगाएर अघि बढाउनुपर्ने आवश्यकता छ । यस पर्वले दिनेको शिक्षालाई कायम राख्दै, नयाँ पुस्ताले पनि यसको महत्वलाई बुझ्नुपर्छ । छठ पर्वले समाज र प्रकृतिलाई एकताको सूत्रमा बाँध्न, आर्थिक गतिविधिलाई चलायमान बनाइराख्न र पर्यावरण संरक्षणको सन्देश फैलाउन सहयोग पुर्याउने एक अद्वितीय पर्वको रूपमा सदैव स्थापित रहन्छ ।