काठमाडौं । बहुप्रतिक्षीत नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो ।
नेपाली र दक्षिण भारतीय कलाकारको अभिनय रहेको फिल्मको ट्रेलरमा एक्सन, प्रेम, विछोड र प्रेम प्राप्तिका लागि गरेको संघर्ष देखाइएको छ ।
हरिहर अधिकारी र निता ढुंगानाको प्रेम, त्यसमा भएको विछोड र प्रेम गर्दा आउने अवरोधलाई हटाउन गरेको संघर्ष र एक्सन चलचित्रको ट्रेलरमा देख्न सकिन्छ ।
यद्यपि, सार्वजनिक ट्रेलरले फिल्मको पूर्ण कथा खोलेको छैन । ट्रेलरलाई हेर्दा हरिहरको दुई जनासँग प्रेम सम्बन्ध रहेको देखिन्छ ।
देवधाममा राज गरेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग र गरिमा शर्मासँग पनि उनको प्रेम सम्बन्ध रहेको देखाइएको छ । ट्रेलरमा दोहोरो प्रेम सम्बन्धको कथालाई निकै लुकाएर देखाइएको छ ।
लामो समयदेखि फिल्मबाट हराएकी विपना थापालाई फिल्ममा आमाको भूमिकामा देखाइएको छ । उनी हरिहर अर्थात् हरिको आमाको भूमिकामा देखिएकी छिन् ।
फिल्ममा हरिहर, नीता र गरिमासँगै दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल वर्मालगायतको अभिनय छ ।
एक्सनलाई प्रधानता बनाइएपनि फिल्मको ट्रेलरलाई हेर्दा रोमान्सलाई पनि उत्तिकै महत्व दिइएको देखिन्छ । ३ मिनेट ३० सेकेण्डको ट्रेलरले दर्शकलाई पूरै तान्छ ।
नीता फिल्मसको ब्यानरमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’मा कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका छन् ।
६ करोड लगानीमा बनेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । हिन्दी फिल्मकै शैलीमा बनाइएको फिल्मले दर्शकको ध्यान तान्ने सम्भावना छ ।
फिल्म यही कात्तिक ३० गतेबाट प्रदर्शनमा आउनेछ ।
यस्ताे छ ट्रेलर