काठमाडौँ । अमेरिकामा दोस्रो पटक डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै चिनियाँ राष्ट्रपति सी चिङफिङले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नु पर्ने बताउँदै ट्रम्पलाई शुभकामना सन्देश पठाएका हुन् ।
हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण सम्बन्धमा समस्या उत्पन्न भएको छ । सन्देशमा चिङफिङले भनेका छन्, “चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन्, मुठभेडबाट पीडित हुन्छन्भ न्ने कुरा इतिहासले देखाएको छ, स्थिर, स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ, यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा अनुरूप छ ।”
उनले बेइजिङ र वासिङ्टनलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गरे । उनले थपे, “नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नु पर्छ ।”
चिनियाँ उपराष्ट्रपति हान झेङले पनि अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सलाई सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार अभियानका क्रममा रिपब्लिकन नेता ट्रम्प र उनीसँगको डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान् उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए ।
ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । स्टिमसन सेन्टरका सिनियर फेलो युन सुनले एएफपीसँग भने, “नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीनबीचको व्यापारमा केही हदसम्म सन्तुलन मिलाउने लक्ष्य राख्नु भएको छ ।”
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिँए । उनले दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै हितका लागि सहकार्यका सिद्धान्तलाई कायम राख्ने विह्वास व्यक्त गरेको बताए ।