राजस्वमा सुनचाँदी व्यवसायको पनि ठूलो योगदान छ । जसले प्रत्येक वर्ष छदेखि आठ अर्ब रुपैयाँसम्म योगदान गरेको व्यवसायीहरू बताउँछन् । तर, राजस्वमा यति ठूलो योगदान गरेको सुनचाँदी व्यवसाय पछिल्लो समय चौपट भएको व्यवसायीहरूको गुनासो छ । अहिले वैधानिक व्यावसायिक गतिविधि नै ठप्प प्रायः बनेको व्यवसायीहरूको भनाई छ ।
सूत्र टिभीको अर्थ बहसमा यसै सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यसँग कुराकानी गरिएको छ । शाक्यसँग सुनचाँदी व्यवसायको व्यावसायिक अवस्थाका सन्दर्भमा गरिएको कुराकानीको छोटो अंश :
अहिले सुनचाँदी व्यवसायको व्यावसायिक अवस्था कस्तो छ ?
विशेषगरी चाडपर्वको समयमा स्वाभाविक बजार चलायमान हुने गर्छ । सुनचाँदीको सन्दर्भमा पनि चलायमान हुनुपर्छ भन्ने आशा हो । तर, विडम्बना विश्वव्यापी रूपमा जसरी युद्धहरू चलिरहेको छ, विवाद बढिरहेको छ र अन्तर्राष्ट्रिय बजारमा जसरी सुनचाँदीको मूल्यमा वृद्धि भइरहेको छ, त्यसले गर्दा नेपालको बजारमा पनि सुनको भाउ अत्यन्तै उच्च बिन्दुमा पुगेको छ । जसको कारण नेपालीहरूले चाहेर किन्न सक्ने अवस्था रहेन । यसपटक चाडपर्व भने पनि व्यापार उत्साहजनक हुन सकेन ।
मूल्यवृद्धि व्यवसाय प्रभावित बन्यो भन्ने हो ?
हो, मूल्य बढेसँगै किनबेचमा एकदमै प्रभाव परेको छ । मेरो बुझाइमा आम नेपालीको खरिद गर्ने क्षमताभन्दा सुनको मूल्य माथि छ । हुन त यसको मूल्यमा अझै उतारचढाव हुनसक्छ । विश्व घटनाक्रमलाई नियाल्दा थप बढ्ने पनि उत्तिकै छ । त्यसमा भाउ यतिमै सीमित हुने देखिन्न । यद्यपि, जुन तहमा वृद्धि भयो, यसले स्थानीय बजारमा भने किनबेच करिब निकै न्यून बिन्दुमा पुग्ने अवस्था बनायो । विगतका वर्षहरूलाई नियाल्दा सुनको खपत निकै घटेको छ ।
जब सुनको मूल्य एक लाखभन्दा माथि पुग्यो, तब त्यसको माग घट्न थालेको पाइन्छ ।
सुनचाँदी व्यवसायीले चाडपर्व र मंसिरलाई व्यावसायिक सिजनको रूपमा लिने गरेको पाइन्छ । तपाईंले भने झैँ यही सिजनमा व्यापार हुन सकेन । यसले समग्रमा कति प्रभाव पार्छ ?
जुन किसिमले व्यापार हुनुपर्ने हो, त्यो नहुँदा बजारमा आर्थिक गतिविधि न्यून भएर जान्छ । अहिले धेरै न्यून भइसकेको अवस्था छ । यसमा रोजगारीको विषय पनि जोडिन्छ । एकातिर व्यवसायी छन् भने अर्कोतिर रोजगारी पाएका वर्ग छन् । व्यावसायिक गतिविधि शिथिल भएसँगै स्वाभाविक रोजगारीका विषय पनि खुम्चिन पुग्छ । धेरै कालिगडहरू अहिले कामविहीन हुने अवस्थामा पुगेका छन् । यसले समग्र आर्थिक क्षेत्रमा प्रभाव पार्ने देखिन्छ ।
अहिले बैंकको ब्याजदर एकल बिन्दुमा झरेको छ । लगानीकर्ताको हिसाबले ब्याजमा लगानी गर्नु फाइदाकर छैन । यस्तोमा लगानीको विकल्प सुन पनि हुनसक्छ । तर, सुनमा लगानी गर्ने वातावरण बनेन । यसलाई कसरी हेर्ने ?
राष्ट्र बैंकको नियमअनुसार लगानीकर्ताले काँचो सुन किन्न पाउँदैनन् । जसलाई हेर्दा नै प्रष्ट हुन्छ सरकारले सुनचाँदी किनबेचलाई प्रोत्साहित गरेको छैन । नीतिगत हिसाबले नियन्त्रणात्मक व्यवस्था बनाइएको कारण नागरिकले चाहेर पनि सुनमा लगानी गर्न पाउने अवस्था छैन । सुन किन्ने हो भने अहिले गहनाको रूपमा मात्रै किन्नुपर्ने अवस्था छ । यसले समग्र लगानीकर्तालाई नीतिगत रूपमै निरुत्साहित गरेको छ ।
तपाइँ यो बजारको राम्रो जानकार हुनुहुन्छ । जसरी सुनको मूल्य उच्च बिन्दुमा पुग्यो, यसको कारण के भए झैँ लाग्छ ?
नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि एउटा कारक हो भने अर्को नेपालकै अर्थनीति पनि हो । अहिले जसरी भन्सार दर बढाइएको छ, यसको कारणले पनि सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको छ । विगतमा १५ प्रतिशत भन्सार दर थियो, चालु आर्थिक वर्षदेखि २० प्रतिशत पुर्याइएको अवस्था छ । जसले स्वाभाविक मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भन्दा २० प्रतिशत महँगो हुनु सामान्य कुरा होइन ।
अर्को, डलरको मूल्य वृद्धि पनि हाम्रो लागि महत्वपूर्ण कुरा बन्न पुगेको छ । सामान्यतया एक डलरको मूल्य १०० रुपैयाँ हाराहारी भइरहेको सन्दर्भमा अहिले एकै पटक बढेर १३४/३५ पुगेको छ । यसले पनि हामीलाई असर गरेको छ ।
सुनचाँदीको बजार प्रभावित भयो भनिरहँदा समग्र अर्थव्यवस्थामा कति प्रभाव पार्ला ?
नेपाल सरकारको राजस्वको प्रमुख स्रोतको रूपमा सुनचाँदी क्षेत्र पनि रहँदै आएको छ । यो क्षेत्रले वर्षमा छदेखि आठ अर्बसम्म राजस्व बुझाउँदै आएको छ । तर, यो वर्ष जसरी बजार प्रभावित बन्यो यसले भने राजस्वमा ठूलो असर गर्ने देखिन्छ । जसरी यहाँ भन्सार दर बढाइयो र भारत सरकारले जसरी भन्सार दर घटायो, यसले नेपालमा वैधानिक किनबेच नै प्रभावित बनाएको छ । सुन नेपालमा भन्दा भारतमा तोलामै २० हजारभन्दा बढी सस्तो पर्छ । यस्तो अवस्थामा सरकारले सुन बजारबाट जुन राजस्वको अपेक्षा गरेको छ, त्यो पूरा हुने अवस्था छैन ।
दक्षिणी सीमा खुला खालको छ । दैनिक उपभोग्य सामाग्रीहरू सहज रूपमा भित्रिरहेको सन्दर्भमा सुन आयात गर्नुमा पनि समस्या देखिन्न । यस्तोमा वैधानिक व्यापार रहने अवस्था रहने भन्ने हो ?
बोर्डर छेउछाउका हाम्रा जुन–जुन सहरहरू छन्, ती सहरमा वैधानिक व्यापार बन्द भइसकेको अवस्था छ । विराटनगर, वीरगन्ज, जनकपुर, चितवन, भैरहवा र नेपालगन्जका वैधानिक व्यापारी आज ठन्डारामको अवस्था छ । चिनीमा २/४ रुपैयाँ तलमाथि हुँदा त उता गएर ल्याउने चलन छ भने सुनमा २०/२० हजारको फरक पर्दा नजाने भन्ने हुँदैन । यसले बोर्डर छेउछाउका सहरमा सबै खालका आर्थिक गतिविधि प्रभावित बनाएको छ । सँगै मध्यतिरका सहर पनि प्रभावित बनेका छन् । आज काठमाडौंका नागरिकलाई पनि यहाँ किन महँगोमा सुन किन्ने भन्ने परेको छ ।
हजुरको बुझाइमा राज्यले नै ‘तँ नेपालमा होइन, भारतमा गएर सुन किन, त्यहाँ सस्तो पर्छ’ भने जस्तो भयो ?
भन्सार दरलाई समयअनुसार समीक्षा गर्नुपर्छ । त्यो पुनरावलोकन भएन । भारतले भन्सार दर घटाउनसाथै हामीले सरकारलाई पुनरावलोकन गर्न आग्रह गरेका थियौँ तर, त्यो सुनिएन । पहिला नेपाल भएर भारततिर सुनको तस्करी हुन्थ्यो, आज भारतबाट तस्करी भइरहेको अवस्था छ ।
भारतले भन्सार दर परिवर्तन गरेसँगै नेपालमा वैधानिक सुन खरिद–बिक्री निकै कम भइसकेको छ । बैंकहरुमा भएको सुनको रिजर्भ नै बिक्री हुने अवस्था नबन्नु पनि यसको कारण हो । बैंकहरुले २२० केजी सल्टाउन ४ महिना लाग्यो ।
विगतमा एयरपोर्टबाट सुन तस्करी चल्थ्यो, अहिले दक्षिणी सीमाको उखुबारीबाट तस्करी हुने अवस्था बन्यो ?
विगतमा हामी कोटा सिस्टमले गर्दा सुनको मागलाई धान्न सकिएन भन्थ्यौँ, आज कोटाको आवश्यकता छैन । बजारमा जति चाहे, त्यति सुन पाइने अवस्था बनेको छ । त्यो सुन कहाँबाट आयो ? त्यो कसले ल्याइरहेको छ ? त्यो हामीलाई थाहा छैन, तर सुन चाहिए जति आउने अवस्था बनेको विषय सामान्य खालको छैन । यस्तै चलिरहे हाम्रो अर्थतन्त्र ध्वस्त हुन बेर लाग्दैन ।
बाँकी संवाद भिडियोमा हेर्नुहोला ।