काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ ।
केपिलासगढी गाउँपालिका ५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित छात्रका आफन्तले बोर्डमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक गरेको हो ।
विं.सं. २०८० चैत २० गते पृथ्वी माध्यमिक विद्यालय बाक्सिला केन्द्रमा भएको अनिवार्य विज्ञान तथा प्रविधि विषयको परीक्षाको उत्तर पुस्तिकामा निरीक्षकले केरमेट गरिदिएका थिए ।
गत असोज १३ गते उत्तर पुस्तिका पुनः परीक्षणका लागि निवेदन दिएपछि यही कात्तिक ४ गते राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशित सूचनामा शिवकुमारको नतिजा सुधार भएर आएको बुवा परशुराम राईले जानकारी दिए ।
हालै प्रकाशित नतिजाअनुसार शिवकुमार ३.४५ जीपीएसहित उत्तीर्ण भएका छन् । पूरक परीक्षामा भने शिवकुमारको जीपीए ३.५५ थियो । अब पछिल्लो नतिजा कायम हुने जनाइएको छ ।
परीक्षाको नतिजा सुधारपछि शिवकुमार गाउँपालिकाकै सबैभन्दा बढी ३.४५ जीपीए ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थी घोषित भएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए ।
उक्त निरीक्षकलाई कारबाहीको माग गर्दै गत असोज २२ गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावकले उजुरीसमेत दिएका थिए । तर, उनलाई हालसम्म कुनै कारबाही गरिएको छैन ।