काठमाडौँ । बलिउड अभिनेता सलमान खानपछि शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । धम्की आएपछि शाहरुखको टोलीले उजुरी दर्ता गरेको छ ।
मुम्बई प्रहरीले उजुरी पाएलगत्तै यस विषयमा अनुसन्धान सुरु गरेको छ । धम्की पाएपछि शाहरुखको घर मन्नत बाहिर सुरक्षा बढाइएको छ ।
एएनआई रिपोर्टका अनुसार अज्ञात व्यक्तिविरुद्ध भारतीय दण्ड संहिता (बीएनएस) को धारा ३०८ (४), ३५१ (३) (४) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जुन नम्बरबाट धम्की दिइएको छ- त्यो नम्बर छत्तीसगढका फैजान नामका व्यक्तिको नाममा दर्ता गरिएको छ । नम्बर ट्रेस गर्ने बित्तिकै मुम्बई पुलिस रायपुर पुगेको छ ।
डीसीपीका अनुसार बान्द्रा पुलिस स्टेशनमा अज्ञात कलरबाट कल आएको थियो । धम्की दिँदै फोन गर्नेले भने, ‘म ब्याण्ड स्ट्याण्डका शाहरुख खानलाई मारिदिन्छु, ५० लाख नदिए शाहरुख ज्यान जान्छ ।’
फोन गर्ने व्यक्तिलाई नाम सोध्दा उनले जवाफमा भनेए, “मलाई केही फरक पर्दैन, मेरो नाम हिन्दुस्तानी हो ।”
यसअघि सन् २०२३ मा फिल्म पठान र जवानको सफलतापछि शाहरुखलाई लगातार धम्की आइरहेको थियो । उजुरी दर्ता भएपछि सुरक्षाको कारणले उनलाई वाई प्लस सुरक्षा दिइएको थियो । त्यसयता शाहरुख कडा सुरक्षामा जान्छन् ।