काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । एक तिहाई अन्तर्राष्ट्रिय उडान कटौती गर्दै विमानस्थलको काम सुरु हुन लागेको हो ।
काठमाडौँबाट विभिन्न देशहरूमा गन्तव्यको उडान कटौती हुँदा हवाई टिकटको मूल्य आकाशिएको छ । विमानस्थल विस्तार हुने भएसँगै सबैभन्दा सस्तो मूल्यको टिकट ६९ हजार रुपैयाँ नजिक पुगेको छ ।
अन्तर्राष्ट्रिय टिकटको मूल्य बढेसँगै पर्यटक क्षेत्रसँगै वैदेशिकी रोजगारीका लागि जाने नेपाली युवाहरू मारमा परेका छन् । यता, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा प्रयोगविहीन बन्दै गएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले विमानस्थल बन्द गरेर ट्याक्सी वे, एप्रोनलगायत विस्तारका काम गर्न लागेको हो । करिब पाँच महिनासम्म त्रिभुवन विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म दैनिक १४ घण्टा मात्र सञ्चालन हुनेछ ।