काठमाडौँ । अमेरिकी अर्बपति व्यापारी एलोन मस्कले अमेरिकाको चुनावपछि क्यानडामा ध्यान केन्द्रीत गरेका छन् । उनले क्यानडाको चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको पराजय हुने भविष्यवाणी गरेका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार जर्मनीमा सरकारको पतनपछि एक प्रयोगकर्ताले क्यानडालाई ट्रुडोबाट छुटकारा पाउन मस्कको सहयोग आवश्यक रहेको पोस्ट गरेका थिए । यसबारे मस्कले क्यानडामा हुने आगामी चुनावमा ट्रुडो आफै हार्ने बताएका हुन् ।
मस्कले जर्मनीमा सरकारको पतनलाई लिएर चान्सलर स्कोल्जको खिल्ली उडाए । यस क्रममा उनले चान्सलरलाई ‘मूर्ख’को संज्ञा दिएका थिए ।
यता, क्यानडामा अर्को वर्ष चुनाव हुँदैछ । ट्रुडोले अल्पसंख्यक सरकार चलाउँदै छन् । उनी सन् २०१५ देखि सत्तामा छन् । ट्रुडोको पार्टीले २०१९ र २०२१ मा बहुमत हासिल गर्न सकेन । उनी अर्को पार्टीको समर्थनमा सरकारमा छन् । सेप्टेम्बरमा जगमीत सिंहको एनडीपी पार्टीले उनलाई समर्थन फिर्ता लिएको थियो । त्यसयता ट्रुडोले अल्पसंख्यक सरकार चलाउँदै आएका छन् ।
बीबीसीका अनुसार विगत केही वर्षयता क्यानडाका जनतामा मुद्रा स्फीति र आवाससम्बन्धी समस्यालाई लिएर निराशा बढेको छ । यसको झलक चुनावी सर्वेक्षणमा पनि देखिएको छ । ट्रुडोको लिबरल पार्टीको लोकप्रियता लगातार घटिरहेको छ ।