काठमाडौँ । चलचित्र पत्रकार प्रकाश सुवेदीलाई ज्यान मार्ने धम्की आएको छ । विदेशबाट आउने अपरिचित नम्बरमार्फत फोन गरेर हिन्दी भाषामा ज्यान मार्ने धम्की आइरहेको उनले बताए ।
आज फिल्म ‘तेल भिसा’को ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएका उनले ‘आफूलाई बारबार फोनमा मार्ने धम्की’ आइरहेको खुलासा गरेका हुन् ।
धम्की दिँदै आफूलाई मार्न दुई करोड रुपैयाँ सुपारी लिइएको उनको भनाइ थियो । ‘मलाई विगत एक हप्तादेखि विभिन्न अपरिचित नम्बरबाट एउटा फोन आइरहेको छ, मार्ने धम्की दिइरहेको छ,’ उनले भने, ‘हिन्दीमा बोल्छ, मलाई तेरो नामको दुई करोडको सुपारी दिइएको छ, भन्छ ।’
यसबारे बोल्दै उनले आफूलाई मार्नकै लागि कसले र किन दुई करोड खर्च गरे होला ? भन्दै प्रश्न गरे । उनले आफूलाई आएको धम्बीबारे पत्ता लगाउने काम भइरहेको बताए । उनले आफूलाई धम्की दिने व्यक्तिले विनोद चौधरीको नाम लिने गरेको बताए ।