काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् ।
इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भई स्वदेश फर्किएका सिंहले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको बताए ।
यूएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नु पर्नेमा आफूले प्रस्ताव राखेको उनको भनाइ थियो ।
सिंहले यूएन ह्याबिटेटले आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा यूएन ह्याबिटेटका नयाँ कार्यक्रम नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाइ छ ।