काठमाडौँ । आईसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल यूएईसँग खेलिरहेको छ । जारी खेलमा नेपालले १२३ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको हो । यूएईका लागि रिनिथा रन्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले चार ओभरमा १५ रन दिएर तीन विकेट लिइन् । पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक-एक विकेट लिएका थिए ।
नेपालले यसअघिका दुई खेलमा जित निकालेको थियो । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले हराउँदा दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।