त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा भैरहवामा बढ्दै चाप-Sutra News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा भैरहवामा बढ्दै चाप

शनिबार, २४ कार्तिक २०८१

शनिबार, २४ कार्तिक २०८१

काठमाडौँ । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् ।



विमानस्थल सुरु भएदेखि उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि पुनः सुरु गरेको छ । आज १७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित १६८ यात्रु लिएर उडेको छ । फ्लाई दुबई र नेपाल एयरलाइन्स पनि आजैदेखि उडान सुरु गर्दै छन् । यससँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानको संख्या चार पुगेको छ ।

जजीरा एयर सातामा तीन दिन उडान गर्दै छ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुबेतका लागि उड्ने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

नेपाल एयरलाइन्सले सातामा तीन पटक काठमाडौँ-भैरहवा-दुबई उडान गर्ने छ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ ।

तिवारीका अनुसार कतार एयरवेज, एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको छ । उनले अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्नसक्ने क्षमता रहेको बताए ।

“दैनिक ३६ वटासम्म विमान भैरहवाबाट हामी सञ्चालन गर्न सक्ने अवस्थामा छौँ”, तिवारीले भने, “अध्यागमनलगायत अन्य जनशक्ति अहिले पूरा छ, आवश्यकताअनुसार यसलाई थप परिमार्जन पनि गर्न सकिन्छ ।”

भैरहवा तथा यस आसपासका यात्रुहरु भैरहवामै अवतरण गर्न पाउँदा हर्षित भएका छन् । देवदह नगरपालिकाका तिजन रानाले पहिलो पटक भैरहवामै अवतरण गर्न पाउदा खुसी भएको बताए ।

सोही विमानमार्फत भैरहवा आइपुगेका कुवेतका राजदूत घनश्याम लम्सालले पहिलो उडानबाट आउन पाउँदा खुशी भएको बताए । यसले नेपाल र कुवेतबीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै त्यहाँका नेपाली नागरिकलाई आवतजावतमा सहज बनाउने विश्वास लिए ।

विमानस्थल सञ्चालनमा आएसँगै यात्रुहरुले यसलाई भने अब निरन्तरता दिनु पर्ने उनको भनाइ छ । व्यवस्थापन चुस्त राख्नु पर्ने, सार्वजनिक यातायातका साधन लगायतको विषयमा ध्यान दिन उनले सुझाव दिए ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएसँगै एक तिहाई अन्तर्राष्ट्रिय उडान कटौती भएको छ । जसले गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट