काठमाडौँ । आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । हाल जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ पद रिक्त छ ।
पहिलो दल कांग्रेस र दोस्रो दल नेकपा एमाले एक्ला एक्लै चुनाव लड्ने घोषणा गरेका छन् । सत्तामा सहकार्य गरे पनि चुनावमा प्रतिस्पर्धा हुने भएको छ । दुई ठुला दल चुनावी तालमेल नगर्ने भएपछि अरु दललाई चुनावी तालमेल गर्ने दबाब छैन ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी चुनावी तालमेल गर्ने भनिए पनि आधिकारिक निर्णय हुन सकेको छैन । तर, माओवादी केन्द्रका सचिव गणेश शाहले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने गरी तयारी गरिएको बताए ।
अरु दलले पनि एक्लै चुनाव लड्ने तयारी गरेकाले माओवादी एक्लै चुनाव लड्ने उनको भनाइ थियो । पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि एक्लै चुनाव लड्ने घोषणा गरेको छ । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उनमुक्ति पार्टी जस्ताले समेत तालमेलमा कुनै निर्णय गरेको छैन ।
कांग्रेस र एमाले दुई दल सत्तामा भएकाले जनमत घट्दो क्रममा भएकाले स्थानीय तह उपनिर्वाचन प्रभाव देखिने प्रतिपक्षको आंकलन छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयले सरकारप्रति हेर्ने नजर नकारात्मक बनेको छ ।
त्यसको तुलानामा माओवादीप्रति हेर्ने नजर राम्रो भएकाले स्थानीय तह उपनिर्वाचनमा लाभ मिल्ने नेताहरुले बताए । तर, यो चुनाव सत्तापक्ष वा प्रतिपक्ष जसले हात पारे पनि मूल्याकंन गर्ने बलियो हतियार बन्ने अपेक्षा लिएको छ ।