काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बजार मात्रै नभई विदेशी बजारमा पनि आक्रामक व्यापार गरेको छ । निर्माण पक्षले जनाएअनुसार विशेषगरी अष्ट्रेलियामा फिल्मको व्यापार निकै उत्साहजनक खालको भएको छ ।
फिल्मले तीन दिनमै अष्ट्रेलियामा झण्डै दुई करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अष्ट्रेलियाका विभिन्न २६ थियटरमा प्रदर्शनमा आएको फिल्मले शनिबारसम्म २ लाख ११ हजार अष्ट्रेलियन डलर कलेक्सन गरेको हो ।
जनाइएअनुसार शनिबार मात्रै १ लाख १२ हजार अष्ट्रेलियन डलरको व्यापार गरेको छ । जसअनुसार फिल्मले शनिबारसम्म एक करोड ८८ लाख नेपाली रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
घरेलु बजारमा भने फिल्मले १० दिनको बिचमा १५ करोड ग्रस कलेक्सन गरेको छ । शनिबार मात्र ९८ सिनेमा हलमा ४६५ स्क्रीनमा फिल्म शो भएको छ ।