काठमाडौं । सधैँ गठबन्धनको राजनीतिमा रमाइरहेका दलहरू यस पटकको स्थानीय तहको उपनिर्वाचनमा भने एक्ला एक्लै लड्ने भएका छन् । सत्तारुढ नेकपा (एमाले)ले एक्लै लड्न उम्मेदवार नै तय गरेर मैदानमा उत्रिँदा नेपाली कांग्रेस आन्तरिक तयारीमा जुटेको छ भने विपक्षी नेकपा (माओवादी केन्द्र)सहितका दलहरू पनि एक्लै चुनावमा लड्ने गरी तयारीमा लागेका छन् ।
शनिवार बसेको सचिवालय बैठकमार्फत एमालेले दैलेखको महाबुबाहेकका स्थानीय तहका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको थियो । एमालेले कीर्तिपुर नगरपालिका प्रमुखमा सुरेन्द्र मानन्धर, मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा तुल्सीराम विश्वास, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पाको नाम टुङ्ग्याएको छ ।
यता, नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा बलराम सरदारको नाम टुङ्गो लगाएको छ भने महावु गाउँपालिका दैलेखको अध्यक्षको लागि झलकबहादुर भण्डारीको नाम टुङ्ग्याएको छ ।
निकै महत्वका साथ हेरिएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखमा भने धेरै आकांक्षी हुँदा कांग्रेसले नाम टुङ्ग्याउन सकेको छैन । स्वयम् पालिकाका सभापति कृष्णमान डंगोलले आफूसहित ११ जनाको नाम प्रदेश कमिटीलाई पठाएका छन् । जसमा दिवंगत पालिका प्रमुख राजकुमार नकर्मीकी पत्नी जमुना नकर्मीको नाम पनि समेटिएको छ ।
कांग्रेसले केही अन्य पालिकाको प्रमुख तथा उपप्रमुख र वडाअध्यक्षको नाम पनि टुङ्ग्याएको छ । कांग्रेसले जिल्ला समन्वय समितिको सिफारिसमा प्रदेश समितिले नाम टुङ्ग्याउने निर्णय गरेको छ । सोहीअनुसार कांग्रेस अहिले तयारीमा जुटिरहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले पनि एक्लै चुनाव लड्ने तयारी स्वरूप उम्मेदवारको नाम टुङ्गो लगाउन सुरु गरेको छ । माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको प्रमुखमा प्राडा शिवशरण महर्जनलाई सर्वसम्मत निर्णय गरेको । यस्तै, पार्टीले कीर्तिपुर वडा १ अध्यक्ष उम्मेदवारमा अष्टमान महर्जन र वडा ४ अध्यक्ष उम्मेदवारमा इन्जिनियर नारायण विष्टलाई छनोट गरेको जनाएको छ ।
माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकासहित केही स्थानीय तहको प्रमुख, उपप्रमुख र वडाध्यक्षको नाम टुङ्ग्याएको छ भने बाँकीमा टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ । माओवादीले पालिका तथा जिल्ला कमिटीको सिफारिसको आधारमा केन्द्रबाटै नाम टुङ्ग्याउने तयारी गरेको छ ।
मुख्य तीन दल उपनिर्वाचनको तयारीमा जुटिरहँदा संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अलमलमा छ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने अनुसन्धानमा तानिएसँगै रास्वपा अन्य विषयमा अन्योलपूर्ण अवस्थामा पुगेको छ । रास्वपा अहिले लामिछानेको रिहाइको माग गर्दै सडक प्रदर्शनमा छ ।
रास्वपाले उपनिर्वाचनको विषयमा आफूलाई प्रवेश नै गराउन सकेको छैन । रास्वपाले चुनावी तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाए पनि अहिलेसम्म उम्मेदवारको टुङ्गो भने लगाउन सकेको छैन ।
यता, राप्रपाले भने क्रमशः उम्मेदवार टुङ्ग्याउन थालेको छ । महत्वका साथ हेरिएको कीर्तिपुर नगरपालिकामा इन्जिनियर ध्रुव महर्जनको नाम टुङ्ग्याएको राप्रपाले अन्यतिर पनि नाम टुङ्ग्याउन सुरु गरेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार तल्लो कमिटीको सिफारिसको आधारमा नामहरू छिट्टै टुङ्ग्याउने तयारी छ । शाहीले जनाएअनुसार केही दिनभित्रै नाम टुङ्गो लाग्नेछ ।
नेकपा (एकीकृत समाजवादी) भने उपनिर्वाचनमा रास्वपा जस्तै अलमलमा देखिएको छ । एकीकृत समाजवादी आफ्नै उम्मेदवार उठाउने वा अरूलाई सहयोग गर्ने भन्ने निर्णयमा पुग्न सकेको छैन ।
कहाँ–कहाँ हुँदैछ चुनाव ?
निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुनेछ ।
जसमा निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काइ नगरपालिका वडा नं ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपलिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं १ का वडाध्यक्ष पदमा निर्वाचन हुने आयोगका सूचना अधिकृत सुमन घिमिरेले राससलाई जानकारी दिनुभयो ।
दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।