विराटनगरमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै-Sutra News

विराटनगरमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै

आइतबार, २५ कार्तिक २०८१

आइतबार, २५ कार्तिक २०८१

काठमाडाैं । नेकपा (एमाले)को कोशी प्रदेशका सांसद तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेर आज काठमाडौं ल्याउँदै छ ।



जिल्ला प्रहरी कार्यालय मोरङमा पत्राचार गरी अहिले अपराह्न अधिकारीलाई काठमाडौँ ल्याउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई विराटनगरमा पक्राउ गरिएको थियो, अहिले काठमाडौँ ल्याइँदै छ ।”

यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटा डिपोर्ट भएकाे प्रहरीले जनाएको छ ।

नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति रु १० लाख बुझाएको प्रहरीको आरोप छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङले पनि पक्राउ गरेको पुष्टि छ ।

यसैगरी, अधिकारीलाई नेकपा (एमाले) कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको केन्द्रीय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

सम्बन्धित समाचार

एमालेले कारबाही गरेको भोलिपल्टै कोशीका पूर्वमन्त्री लिलाबल्लभ पक्राउ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट