काठमाडौं । मुख्य चाडपर्व सकिएसँगै सेयर बजारमा उत्साह देखिएको छ । छठ बिदापछिको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा सूचकसँगै कारोबार रकम उत्साह जगाउने गरी बृद्धि भएको छ ।
आइतबार एकै दिन ६२.५४ अंकले बढ्दै सेयर बजार परिसूचक (नेप्से) २७३८.०६ को बिन्दुमा उक्लिएको छ । सँगै आइतबार २ करोड २४ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको भयो । जुन ३० कारोबार दिनयताकै उच्च हो ।
समग्रमा हरियाली छाएको नेप्सेमा आज सबैभन्दा बढी जलविद्युत समूहको सूचक ४.२६ प्रतिशतले बढ्यो भने सबैभन्दा कम सामूहिक लगानीको सूचक ०.६२ प्रतिशतले बढ्यो ।
कारोबारमा आएका २४४ कम्पनीमध्ये आज २२८ को मूल्य बढ्यो भने १३ को मूल्यमा सामान्य करेक्सन आयो । ३ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
उच्च अंकले नेप्से बढ्दै गर्दा ६ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बढे भने तीन कम्पनीको मूल्य नौ प्रतिशतभन्दा बढीले बढे ।
आज कारोबार रकमका आधारमा सानिमा जिआइसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, न्याग्दी गु्रप पावरलगायत शीर्ष स्थानमा रहे । सानिमा जिआइसी इन्स्योरेन्सको मात्रै ३८ करोड ४ लाख रुपैयाँको सेयर किनबेच भयो ।
विशेषगरी दसैं अघि र पछि बढेको नेप्से तिहारपछिका केही कारोबार दिनमा घटेको थियो । यद्यपि, गिरावट झिनो अंकको थियो । सँगै कारोबार रकम पनि बढ्न सकेको थिएन ।
आइतबारको कारोबारले चाडपर्वको प्रभावसँगै नेप्सेमा मनोविज्ञान पनि सप्रिएको सन्देश दिएको छ । यसले आगामी दिन बजार थप उत्साहपूर्णरुपमा जाग्ने सम्भावनालाई दर्शाएको छ ।