काठमाडौं । अभिनेता प्रदिप खड्का गुन बिर्सिने कलाकार भएको आरोप अभिनेता सरोज खनालले लगाएका छन् । सूत्र टिभीसँगको कुराकानीमा उनले खड्काबारे यस्तो आरोप लगाएका हुन् ।
फिल्म ‘प्रेम गीत ३’को सन्दर्भमा आफू जोडिएको विवादबारे बोल्दै खनालले खड्काको विषयमा टिप्पणी गरेका हुन् । ‘प्रेम गीत ३’को पक्षमा बोलिदिँदा उल्टै आफू नराम्रो बन्न पुगेको गुनासो खनालको छ ।
“विकास बोर्डले यो सिनेमालाई चलाउन दिनुपर्छ भनेको थिएँ तर, युटुवरहरुले त्यसलाई तोडमोड गरेर हालेपछि उहाँहरू (प्रदिप खड्का र सन्तोष सेन)ले अर्कै बुझ्नुभएछ”, आफूलाई विवादमा तानिएको सन्दर्भबारे बोल्दै खनालले भने, “प्रदिप र सन्तोषले पूरा कुरा नबुझी मलाई जवाफ दिन थाल्नुभयो, मबारे अनेकन् बोलियो ।”
आफ्नै कारण प्रदिपले ‘प्रेमगीत’मा भूमिका पाएको पनि खनालको दाबी छ । त्यो पाएको भूमिकालाई प्रदिपले बिर्सेको खनालले बताए ।
“प्रेमगीतमा हामीले सँगै गरेको हो । त्यसमा उहाँको अभिनय त्यति सशक्त भइरहेको थिएन, नर्भस जस्तो देखिरहनु भएको थियो । त्यो समयमा डिरेक्टर प्रोडुसर मिटिङमा बसेर हिरो फेर्ने कुरा भएको थियो”, उक्त घटनाबारे सम्झँदै खनालले भने, “त्यो समयमा मैले भनेको थिएँ कि यो क्यारेक्टर जुन गरिरहेको छ उसले त्यसमा हिरो नर्भस नै देखिनु पर्छ । किनभने यो क्यारेक्टर हिरोइनले पेल्ने क्यारेक्टर हो । त्यसैले उ नर्भस भएको ठिक छ । यो क्यारेक्टरको लागि यो भन्दा राम्रो मान्छे नै छैन । राख्नुस् उहाँलाई भनेर मैले प्रेमगीतबाट बाहिर निकाल्न दिइन तर, अहिले त्यो गुन त उहाँले बिर्सिनु भयो । अहिले ठूलो स्टार हुनुभयो अनि भुल्नु भयो ।”
पूरा कुराकानी भिडियाेमा हेर्नुहाेला