पाेखरा । सहकारी ठगी र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । सोही दिनकै राति पोखरा लगिए पनि शनिवार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेमाथि अनुसन्धान गर्न पछिल्लो पटक कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले दिएको म्याद आइतबार सकिएसँगै पुनः म्याद थपका लागि अदालतमा पेस गरिएको थियाे ।
लामिछानेमाथि आइतबारसमेत गरी चार पटक म्याद थप गरिसकिइएको छ । कात्तिक २ गते रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई अदालतले पहिलो पटक छ दिन, दोस्रो पटक सात दिन र तेस्रो पटकमा १० दिन म्याद थप गरिएकाे हाे ।