काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । सोमबार २२.१४ अंकले बढ्दै नेप्से २७६०.२१ को बिन्दुमा उक्लिएको छ ।
यसअघि आइतबार नेप्से ६२.५४ अंकले बढेको थियो ।
सूचकसँगै नेप्सेमा कारोबार रकम पनि उत्साह जगाउने गरी बढेको छ । सोमबार २ करोड ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको भयो । जुन झण्डै साढे दुई महिनायताकै उच्च हो ।
आज १३ समूहमध्ये ८ समूहको सूचक बढ्यो भने ५ समूहको सूचक घट्यो । लघुवित्त समूहको सूचक ३.२० प्रतिशतले बढ्दा फाइनान्स समूहको सूचक ०.३० प्रतिशतले घट्यो ।
आज कारोबारमा आएका २४४ कम्पनीमध्ये १४३ को मूल्य बढ्यो भने ९२ को मूल्य घट्यो । नौ कम्पनीको मूल्य भने स्थिर रह्यो ।
आज पाँच कम्पनीको मूल्य सर्किट लेबलमा बृद्धि हुँदा पाँच कम्पनीकै मूल्य नौ प्रतिशतभन्दा बढीले बढ्यो ।
आज कारोबार रकमका साहस ऊर्जा, हिमालयन रि, अरुण भ्याली, सानिमा मैलगायत शीर्ष स्थानमा रहे । साहस ऊर्जाको मात्रै कारोबार रकम ३८ करोड १७ लाख रुपैयाँको भयो ।
सेयर बजारमा पछिल्लो दुई दिन (आइतबार र सोमबार)मात्रै २१ अर्बमाथिको कारोबार भएको छ । जसले ठूला लगानीकर्ताको प्रवेशलाई संकेत गर्दछ ।
चाडपर्वको सिजन सकिएसँगै नेप्सेमा नयाँ माहोल सिर्जनाको भएको पाइन्छ । सँगै मौद्रिक समीक्षा आउने चर्चाले पनि लगानीकर्तालाई उत्साहित बनाएको छ । जसको प्रभाव सेयर बजार क्रमशः उत्साहित शैलीमा अघि बढेको देखिन्छ ।
बजारका जानकार पछिल्लो दुई कारोबारले नै नेप्सेमा पुरानो लय फर्काएको बताउँछन् ।