काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवादमा काटिएका उद्योगको तत्कालै लाइन जोड्ने निर्णय ग¥यो । सँगै बैठकले बक्यौता उठाउने प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय लियो । जसमा गिरिशचन्द्र लाल नेतृत्वमा बनेको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कुरा छ ।
मन्त्रिपरिषद्ले सोमबार मध्यान्हसम्मको समय नै तोकेर लाइन जोड्ने निर्णय गरेको थियो । यद्यपि, सरकारको निर्णय कार्यान्वयन भने हुन सकेन । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आनाकानी गरे ।
निर्णय कार्यान्वयन गर्न घिसिङले आनाकानी गरेपछि ऊर्जामन्त्री दिपक खड्काले सोमबार प्राधिकरणको बोर्ड बैठक बोलाएका थिए । यद्यपि, बोर्ड बैठक पनि घिसिङकै अडानले निर्णयमा पुग्न सकेन ।
घिसिङले बक्यौता नउठाई लाइन जोड्न नसकिने अडान राख्दै आएका छन् । जुन अडानकै कारण सिंगो दुई तिहाई नेतृत्वको सरकारकै निर्णय अलपत्र पर्ने अवस्थामा पुगेको छ ।
यसबिचमा सरकार घिसिङलाई हटाउने उपायको खोजीमा जुटेको छ । सरकारले प्रक्रियालाई पूरा गर्न एकपछि अर्को गरी घिसिङसँग स्पष्टीकरण माग गरिरहेको छ ।
असोज २३ मा १५ बुँदामा स्पष्टीकरण सोधेको सरकारले फेरि कात्तिक १३ मा ६ बुँदे स्पष्टीकरण सोधेको छ । यद्यपि, असोज २३ मा सोधेको स्पष्टीकरणको जवाफ घिसिङले पठाएका छैनन् । उनले चाडपर्वलाई कारण बनाउँदै जवाफ पठाउन थप समयको माग गरेका थिए ।
१५ दिनको उक्त समय गुज्रिएपछि सरकारले कात्तिक १३ मा पुनः स्पष्टीकरण सोधेको हो । दोस्रो पटक पुनः पुरानै शैलीमा ७ दिनको समय दिँदै सरकारले ६ बुँदे स्पष्टीकरण सोधेको छ ।
एकातिर स्पष्टीकरण सोध्ने र अर्कोतिर निर्णय कार्यान्वयन गर्न दबाब दिने नीतिमा सरकार देखिएको छ । चुनौति दिइरहेका घिसिङ भने कर्मचारी संयन्त्र र जनमतको सेन्टिमेन्टअनुसार अगाडि बढ्ने मुडमा देखिएका छन् ।
यद्यपि, यो टसलको अवस्था कति टिक्ला ? हेर्न बाँकी नै छ । किनकि झण्डै दुई तिहाई जनमतको गठबन्धन सरकारको अगाडि चुनौति दिँदै सिंग्रौरी खेल्नु सामान्य छैन । प्रधानमन्त्री स्वयंको भाषा पनि घिसिङलाई चेतावनी दिने खालको छ । “विद्युत्को लाइन जोडिएन होइन ? ठिक छ हेर्दै जाँऊ, देश बिगार्न, उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन”, निर्णय कार्यान्वयनमा आनाकानी गरेपछि ओलीले बोलेका छन् ।
यसअघि अख्तियार लगाउने तयारीमा देखिएको सरकारले यसपटक चुप लागेर बस्ला भन्न सकिन्न ।