काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा आन्दोलन भएको छ । कास्की प्रहरी हिरासतबाट उनलाई रुपन्देही लगिएसँगै उनको पक्षमा भैरहवामा आन्दोलन भएको हो ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई पोखराबाट विमानमार्फत भैरहवा लगिएको हो । उनलाई भैरहवामा लगेसँगै बिहानैदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।
भैरहवा विमानस्थलबाट लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लगिएको छ । विमानस्थल गेटबाहिर रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
यसअघि पार्टीका नेता तथा कार्यकर्ताले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै पोखरामा आन्दोलन हुँदै आएको थियो । उनलाई भैरहवा लगेपछि देशका विभिन्न स्थानमा आन्दोलन सुरु भएको छ ।