काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पोखरामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई बयानका लागि रुपन्देही लगिएको थियो । कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार लामिछानेलाई बुद्ध एयरको विमानबाट बुटवल लगिएको थियो ।
रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान सुरु भएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा उनीसँग बयान लिइएको हो ।
यसअघि पोखराको सूर्य दर्शन सहकारीको बचत हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
उनलाई कात्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर कास्की लगिएको थियो । पछिल्लो समय जिल्ला अदालत कास्कीले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।