रवि नहुँदा रास्वपाको भविष्यमाथि ‘ग्रहण’-Sutra News

रवि नहुँदा रास्वपाको भविष्यमाथि ‘ग्रहण’

मंगलबार, २७ कार्तिक २०८१

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिखेर प्रहरी हिरासतमा छन् । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई प्रहरीले कात्तिक २ मा पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो । जुन आरोपमाथि प्रहरीले चौथो पटक म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।



पोखरामा सूर्यदर्शन सहकारीको सन्दर्भमा अनुसन्धान चलिरहेकै बखत लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पनि छानबिनका लागि रुपन्देही पु¥याइएको छ । सुप्रिम सहकारीको रकम अपचलनको घटनामा लामिछानेलाई कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो । जसका आधारमा मंगलबार लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही पु¥याइएको हो ।

सभापति लामिछानेमाथि एकपछि अर्को आरोपमा अनुसन्धान चलिरहेको छ । उनीमाथि अनुसन्धान चलिरहँदा रास्वपा पार्टी भने नेतृत्वविहीन जस्तो अवस्थामा पुगेको छ । आफू प्रहरी हिरासतमा हुँदा पनि लामिछानेले कार्यबहाक सभापति तोकेका छैन । कार्यबहाक नतोकिँदाको परिणाम रास्वपाले हालसम्म औपचारिकरुपमा पार्टी बैठक नै बोलाउन सकेको छैन ।

एक महिनाको बिचमा दुई पटक नामको केन्द्रीय समिति बैठक बोलाएको भए पनि बैठकले कुनै निर्णय लिन सकेन । बैठककै अध्यक्षता कसले गर्ने भन्ने सकस दुवै पटकको बैठकमा देखियो ।

सोमबार दुवै उपसभापतिहरू डीपी अर्याल र स्वर्णीम वाग्लेले हिरासतमै पुगेर लामिछानेसँग छलफल गरेका थिए । तर, सोमबारको हिरासत छलफल पनि लामिछानेको भनाई सुनेरै सकिएको थियो । जहाँ दुवै उपसभापतिले कुनै ठोस प्रस्ताव राखेनन् र निष्कर्षका लागि पहल गरेनन् ।

“सभापतिले कार्यवाहक दिने सन्दर्भमा छलफल गर्नुभएको थियो, तर हामी दुवै जना उपसभापतिहरू बसेर अहिले तत्काललाई यो निर्णय गर्न आवश्यक नरहेको सुझाव दियौँ”, सभापतिसँगको छलफलपछि उपसभापति अर्यालले भने ।

रास्वपाभित्र अहिले अदालती प्रक्रियाले के निष्कर्ष दिन्छ, त्यसपछि मात्रै निर्णय गर्न सक्ने बुझाई रहेको पाइन्छ । पार्टी सभापति पक्राउ परेको ९ दिनपछि बसेको बैठकमा बोल्ने अधिकांश सदस्यले सोही धारणा राखेका थिए ।

यदि लामिछानेको सन्दर्भमा अझै केही महिना अदालती आदेश नआए के होला ? के यसैगरी रास्वपा चलिरहला ? अहिले आमरुपमा प्रश्न उठेको छ ।

उपनिर्वाचनमा नै नदेखिने अवस्था

लामिछाने पक्राउ परेसँगै रास्वपा यतिखेर सडक प्रदर्शनमा उत्रिएको छ । पार्टी सडकमा प्रदर्शनमा उत्रिरहँदा देश भने स्थानीय तहको उपनिर्वाचनको माहोलले तात्तिएको छ । यस्तोमा उपनिर्वाचनमा रास्वपाको अवस्था के हुने भन्ने अन्योल देखिन्छ ।

रास्वपाले केन्द्रीय सदस्य गणेश पराजुलीको नेतृत्वमा चुनाव परिचालन कमिटी तय गरेको छ । यद्यपि, पार्टी सभापति हिरासतमा रहनु र अन्य नेता प्रदर्शनका कार्यक्रममा जुट्दा चुनावी अभियान भने प्रभावकारी हुने अवस्था देखिएको छैन ।

जसलाई हेर्दा, रास्वपाले तल्लो तहसम्म आफूलाई सक्रिय बनाउने अवसर गुमाउने देखिन्छ । यद्यपि, सह–प्रवक्ता रमेश प्रसाइँ उपनिर्वाचनमा रास्वपाको दमदार नै उपस्थिति रहने दाबी गर्छन् । सरकारको गलत कामको भण्डाफोर गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई प्रयोग गर्न लागिएको उनले सुनाए ।

“सभापतिसँगै जोडिएको विषयले स्वभाविकरुपमा हाम्रा गतिविधि केही प्रभावित भएका छन्, यद्यपि हामीले यसलाई सरकारको भण्डाफोर गर्ने अभियानको रूपमा पनि प्रयोग गरेका छौँ, स्थानीय तहको उपनिर्वाचनलाई पनि यही अभियानको रूपमा प्रयोग गर्छौ”, उनले भनेका छन्, “रास्वपा हरायो कि भन्ने हुँदैन, हामी अरूको भन्दा व्यवस्थित कार्यक्रम बनाएरै जान्छौँ ।”

यद्यपि, प्रसाइँको भनाईसँग रास्वपाको अभियान तालमेल खाएको पाइँदैन । अन्य दलहरू उम्मेदवार चयन र प्रचार प्रसारमा जुट्दा रास्वपाको भने खास कार्यक्रम देखिएको छैन ।

वैकल्पिक शक्तिको साख जोगाउनै गाह्राे

विगतका समयमा अन्य दलका नेता कार्यकर्ताहरू रास्वपालाई वैकल्पिक शक्ति मान्दै समर्थन जनाउँदै पार्टी प्रवेश गरे । कतिपय उम्मेदवार समेत बने । तर, रास्वपाको पछिल्लो गतिविधिका कारण आफ्नै साख जोगाउन हम्मेहम्मे पर्ने अवस्था बनेको छ ।

राजनीतिक विश्लेषक मुकुन्द आचार्यका अनुसार हालकै अवस्था कायम रहेमा रवि लामिछानेसँगै रास्वपाको भविष्य पनि धरमरमा पर्न सक्छ । “रविमाथि जे–जस्ता आरोप लागेका छन् र जसरी छानबिनको प्रक्रियालाई अघि बढाइएको छ, यसले उनको राजनीतिक भविष्यमाथि ग्रहण लागेको देखिन्छ”, आचार्य भन्छन्, “यस्तोमा रास्वपा सिङ्गो पार्टी नै उनको पछाडि लाग्दा पार्टीकै भविष्यसमेत धरमर हुनसक्छ ।”

उनका अनुसार रास्वपाले आफूलाई उभ्याउनका निम्ति पनि सभापतिबाहेकको टिमलाई परिचालन गर्ने अवस्था बनाउनुपर्छ । पार्टी बैठक र कार्यक्रम व्यवस्थित नभएको सन्दर्भमा समीक्षा गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट