काठमाडौँ । बागमती प्रदेशमा मन्त्रालयको संख्या १४ पुगेको छ । मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई विभाजन गरेसँगै मन्त्रालयको संख्या १४ पुगेको हो ।
बैठकले सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो । बिना विभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालय फुटाएर संख्या बढाएको हो ।
विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए । लामो समयसम्म विना विभागीयको जिम्मेवारीमा बसेसँगै उनलाई जिम्मेवारी दिनेबारे प्रश्न उठ्दै आएको थियो ।
यसबीच सत्ता पक्षका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आरोप प्रत्यारोपको शिलशिला चलेको थियो । यसैबीच दुई दलबीच मन्त्रालय फुटाएर जिम्मेवारी हेरफेर गर्ने सहमति भएको थियो ।