काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ उर्फ दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । करिब २० वर्षअघि ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनी जेल चलान भएका हुन् ।
मंगलबार मात्रै काठमाडौँबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयन गराउन कारागार चलान गरिएको हो ।
विं.सं. २०६१ वैशाख ३१ गते काठमाडौँमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई धारिलो हतियार प्रहार गरेको मुद्दामा मनाङेलाई उच्च अदालत पाटनले पाँच वर्ष कैद सजाय तोकेको थियो ।
उच्च अदालतको फैसलालाई कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेको थियो । सर्वोच्चको फैसलासँगै उनी सम्र्पकविहीन भएका थिए । यसैबीच उनले अदालतको फैसला सार्वजनिक भएपछि आफै प्रहरीको सम्पर्कमा जाने बताएका थिए ।
तर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।