काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानलाई धम्की दिने अभियुक्त मोहम्मद फैजान खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज रायपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
अभिनेता शहरूखको टोलीले धम्की दिने व्यक्तिविरुद्ध बान्द्रा प्रहरी चौकीमा उजुरी दिएको थियो । उजुरीसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । जुन नम्बरबाट शाहरुखलाई धम्की दिइएको थियो, त्यो नम्बर रायपुरमा बस्ने वकिल फैजान खानको नाममा दर्ता भएको देखिएको थियो ।
रिपोर्टका अनुसार मंगलबार बिहान मुम्बई पुलिसका सीएसपी अजय सिंह र उनको टोली ट्रान्जिट रिमाण्डको लागि रायपुर पुगेका थिए । फैजानलाई उनको घरबाट पक्राउ गरिएको थियो । उनलाई आज अदालतमा पेश गरिने छ ।
भारतीय मिडिया आजतकका अनुसार धम्की पाएको केही दिनपछि प्रहरीले फैजानको घर पुगेको थियो । यद्यपि, फैजानले आफ्नो बयान लिन नोभेम्बर १४ मा मुम्बई आउने बताए ।
फैजानले प्रारम्भिक बयानमा भनेका थिए- ‘जुन नम्बरबाट शाहरुखलाई धम्की दिइएको थियो, त्यो नम्बर आफ्नो हो, धम्की दिनुभन्दा ३-४ दिनअगाडि उनको मोबाइल चोरी भएको थियो ।’