काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भक्तजनले अब डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था गरिएको छ ।
लक्ष्मी सनराइज बैंक ताप्लेजुङसँगको सहकार्यमा पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा आउने भक्तजनले डिजिटल माध्यमबाट भेटी चढाउन सक्ने व्यवस्था गर्न लागेको हो ।
पाथीभरा क्षेत्र विकास समितिले लक्ष्मी सनराईज बैंकमा भेटी खाता सञ्चालन गरेको र उक्त खाताको ‘क्यूआर कोड’मार्फत भक्तजन तथा दाताहरूले भेटी जम्मा गर्न मिल्ने समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
उनका अनुसार मंगलबार लक्ष्मी सनराईज बैंक ताप्लेजुङ शाखाका प्रबन्धक अनिल श्रेष्ठले पाथीभरा क्षेत्र विकास समितिलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।
समितिका अनुसार उक्त क्यूआर कोड तत्काल पाथीभरा मन्दिर परिसरमा राखिने छ । जसले भक्तजनलाई सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
मन्दिर क्षेत्रमा मोबाइल नेटवर्क उपलब्ध भए पनि इन्टरनेटको सुविधा राम्रो नभएकाले टेलिकमसँग समन्वय गरी इन्टरनेट विस्तार गरिने जनाइएको छ ।