काठमाडौं । विगतका समयमा नेपाली हलहरुमा हिन्दी चलचित्रकै बर्चश्व हुन्थ्यो । हलवालाले एकपछि अर्को गरी हिन्दी फिल्म नै लगाइरहेका हुन्थे भने दर्शकको रोजाइमा पनि हिन्दी फिल्म नै रहन्थ्यो । यद्यपि, यसपटक हिन्दीको त्यो निरन्तरता तोडिएको छ ।
दसैंयता निरन्तर नेपाली हलमा नेपाली फिल्मकै निरन्तर बर्चश्व छ ।
असोज १७ मा दसैंको घटस्थापनाको मौका पारी नेपाली फिल्म ‘बेहुली फर्म मेघौली’ प्रदर्शनमा आएको थियो । जसले बक्स अफिसमा सानदार व्यापार गर्यो । यद्यपि, दसैंको फूलपातीसँगै भित्रिएका तीन फिल्म ‘१२ गाउँ’, ‘छक्का पन्जा ५’ र ‘ज्वाइँ साब’को चेपुवामा पर्दा फिल्म हलको विकल्पमा निस्कियो ।
तर, फूलपातिअघिसम्म हलमा ‘बेहुली फर्म मेघौली’को राम्रो प्रभाव थियो ।
फूलपातीसँगै भित्रिएका दुई फिल्म ‘१२ गाउँ’ र ‘छक्का पन्जा ५’ले बक्सअफिसमा विगतका रेकर्डलाई तोड्दै आफूलाई अब्बल बनाउँदा ‘ज्वाइँ साब’ले अपेक्षित व्यापार ग¥यो । दसैंभर तीन नेपाली फिल्मले हल जमाए ।
त्यसयता तिहारलाई लक्षित गरी कात्तिक १५ मा फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हलमा भित्रियो । दसैंमा रिलिज भएका नेपाली फिल्मकै चपेटामा केही दिन परेपनि ‘पूर्णबहादुरको सारङ्गी’ले त्यसयता जोडदार व्यापार गरिरहेको छ । अहिले नेपाली हलमा यो फिल्मको एकछत्र राज छभन्दा अतियुक्ति हुँदैन ।
‘पूर्णबहादुरको सारङ्गी’ले विगतका रेकर्ड तोड्दै व्यापार गरिरहेको छ भने उच्च शो पाएर इतिहास रचेको छ । फिल्मले ११ दिनकै बिचमा घरेलु हलहरुबाट झण्डै २१ करोडको ग्रस कलेक्सन गरेको छ भने एकै दिन झण्डै चार करोड कमाएर हालसम्मै नेपाली फिल्महरुको कमाईको रेकर्ड ब्रेक गरेको छ ।
सुखद विषय, फिल्मको व्यापार घटेको छैन । प्रदर्शनको दुई साता पुग्दै गर्दा पनि फिल्मको शोमा कमी आएको छैन ।
धेरैले आउँदै गरेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ले केही प्रभाव पार्ने सम्भावनालाई औंल्याएका छन् । यद्यपि, हालको अवस्थालाई हेर्दा प्रभाव के–कस्तो पर्ला भन्न सकिने अवस्था छैन ।
रोचक विषय, नेपाली फिल्महरुले हलमा जोडदार व्यापार गर्दा भित्रिएका हिन्दी फिल्मको अवस्था चिन्ताजनक छ भने नयाँ फिल्म छिर्न नै मुस्किल बनेको छ । महँगो रकम तिरेर ल्याइएका ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ कै लगानी उठ्ने अन्योलता हुँदा बहुप्रतिक्षित ‘कंगुवा’ नआउने निश्चित भएको छ ।
‘पूर्णबहादुरको सारंगी’को उछालपूर्ण व्यापार गरिरहँदा ‘कंगुवा’लाई नेपालमा ल्याउन कसरत गरिरहेको वितरक कम्पनी ए–एट्ले हलहरुलाई नल्याउने सन्देश पठाएको हो । जसले नेपाली फिल्मको व्यापार र हलवालाको मनोविज्ञानलाई पनि प्रष्ट्याएको छ ।
फिल्म समीक्षक अशेष अधिकारी नेपाली फिल्महरुले दर्शक तान्ने अवस्था आउनु सुखद भएको बताउँछन् । दर्शकहरुको रोजाइमा नेपाली फिल्म नै पर्न सक्नु नेपाली फिल्म उद्योगको लागि ठूलो फड्को भएको उनको भनाई छ ।
“हलमा कुन फिल्म लाउँछन्, भन्ने कुरा व्यापारसँग जोडिन्छ”, अधिकारीले भनेका छन्, “हलवालाले पनि व्यापार हेर्ने हो, अहिले नेपाली फिल्मले राम्रो व्यापार गरेका छन्, दर्शक निरन्तर तानेका छन्, यसले नेपाली फिल्म उद्योगको सफलतालाई देखाउँछ । यो आम नेपाली फिल्म उद्योगको लागि सुखद पक्ष हो ।”
विशेषगरी फिल्मका कथा र प्रस्तुतीहरुले दर्शकको ध्यान तान्ने गरेको भन्दै उनी पछिल्लो सफलता फिल्म निर्माण पक्षले आफूलाई अब्बल बनाउँदा प्राप्त भएको बताउँछन् ।