काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर ओरालोमा छ । एक सातादेखि नै घट्न थालेको मूल्य साताको चौथो कारोबार दिन (बुधबार) पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले सस्तिएको छ । मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसअघि सोमबारको तुलनामा २४ सय रुपैयाँले घट्दै मंगलबार प्रतितोला एक लाख ६२ हजार छ सय रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्यमा गिरावट भइरहँदा आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसारका मंगलबारको तुलनामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।
आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश २६०७.१३ डलर छ । जुन अघिल्लो दिनको तुलनामा घटेको मूल्य हो ।
विशेषगरी अमेरिकी राष्ट्रपतीय चुनावको सम्मुखमा अन्तराष्ट्रिय बजारमा बढेको सुनको मूल्य चुनावको नतिजा आएसँगै घट्न थालेको थियो । बुधबारसम्मको अवस्थालाई हेर्दा स्थानीय बजारमा पछिल्लो सात कारोबार दिनकै बिचमा छ हजार चार सय रुपैयाँले मूल्य घटेको छ ।