काठमाडौं । साताको चौथो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । बुधबार ५.५९ अंकले बढ्दै नेप्से २७५४.५५ को बिन्दुमा उक्लिएको छ ।
नेप्से एकल अंकले बढ्दै गर्दा कारोबारमा आएका अधिकांश कम्पनीको सेयर मूल्य बढ्यो । कारोबारमा आएका ६० कम्पनीमध्ये ४० को मूल्य बढ्यो भने १६ को मूल्य घट्यो । ४ को भने मूल्य स्थिर रह्यो ।
प्रिसेसनमा विशेषगरी जलविद्यूत, फाइनान्स र लघुवित्त क्षेत्रका कम्पनीको सेयर किनबेच भयो ।
एकल अंकले सूचक बढ्दै गर्दा प्रिसेसनमा कारोबार रकममा उत्साहपूर्ण बृद्धि भएको छ । ३४ हजार २०१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक करोड २३ लाख ३६ हजार रुपैयाँको कारोबार भयो । जुन प्रिओपन सेसनमा भएको केही सातायताकै उच्च कारोबार हो ।
यसअघि लगातार दुई दिन उच्च अंकले बढेको नेप्से तेस्रो कारोबार दिन (मंगलबार) ११.२४ अंकले घटेको थियो । नेप्सेमा परिसूचक घट्दै गर्दा कारोबार रकममा पनि गिरावट आएको थियो ।
मंगलबारको गिरावटलाई बजारका जानकारले करेक्सनको रुपमा लिएका छन् । जसको आधारमा आजको कारोबार बढ्ने सम्भावना देखिन्छ ।