काठमाडौँ । कार दुर्घटनामा घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको मृत्यु भएको छ । २२ वर्षीय एङ्गुलोको उपचारका क्रममा बुधबार निधन भएको इक्वेडर फुटबल फेडेरेसनले जानकारी दिएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘मार्को एक उत्कृष्ट खेलाडी मात्र नभएर एक उत्कृष्ट साथी पनि थिए, हाम्रो फुटबल महासंघ एङ्गुलोको मृत्युमा गहिरो सहानुभूति व्यक्त गर्दछ ।’
उनी सन् २०२२ मा सिनियर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए । यसअघि उमेर समूहको टोलीमा २०१९ देखि खेल्न थालेका थिए ।
यसका साथै उनी २०२० देखि क्लबमा आबद्ध भएका थिए । उनी २०२३ मा लियोनल मेस्सी खेलिरहेको लिग मेजर लिग सकरकै क्लब सिनसिनाटी एफसीबाट खेलेका थिए ।