सकसमा कांग्रेस–एमाले सहकार्य-Sutra News

सकसमा कांग्रेस–एमाले सहकार्य

राजनीतिक विश्लेषकहरुको निष्कर्ष : गठबन्धनको सन्दर्भमा आन्तरिकभन्दा बाह्य कारण महत्वपूर्ण छ, जुनसुकै बेला ढलपल हुनसक्छ

बुधबार, २८ कार्तिक २०८१

बुधबार, २८ कार्तिक २०८१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेसँगै अप्रत्याशित शैलीमा नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सहकार्यको अवस्था बनेको थियो । विशेषगरी झाकै पक्राउको पृष्ठभूमिमा दुई दलका शीर्ष नेता एक ठाउँमा उभिएका थिए ।



असार १४ को राति झा पक्राउ परेका थिए भने असार १५ को दिउँसो एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा ओली निवास बालकोटमा जुटेका थिए । सोही छलफलकै आधारमा असार १७ को मध्यराति दुई दलका शीर्ष नेताहरूबिच ७ बुँदे सहमति भएको थियो ।

असार १७ को ७ बुँदे सहमतिकै जगमा ओली असार ३० मा चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । विशेषगरी दुई दलबिच सत्ता सहकार्यको अवस्था झा पक्राउपछिको पृष्ठभूमिले नै तयार पारेको देखिन्छ ।

दलहरुले ७ बुँदेमा सत्ता सहकार्यको विभिन्न कारण औंल्याएका छन् । सँगै सहकार्यमार्फत दिने नतिजाबारे पनि उल्लेख गरेका छन् । यद्यपि, कारण र हालसम्मको नतिजालाई हेर्दा, सहकार्य कुनै प्राकृतिक नीतिमा टेकेर गरिएको पाइन्न । जसको कारण सत्ता सहकार्यमा निरन्तर सकस परिरहेको देखिन्छ ।

विशेषगरी गठबन्धनलाई अगाडि बढाउने सन्दर्भमा करिब ४ महिनाको अवधि निकै अन्योलपूर्ण बन्यो । एकातिर आन्तरिकरुपमा समस्याहरू देखिए भने अर्कोतिर बाह्य समस्याहरू पनि हाबी भए ।

विशेषगरी दक्षिणी छिमेकी देश भारतले कांग्रेस–एमाले सहकार्यलाई त्यति रुचिकर मानेन । प्रधानमन्त्री ओलीलाई भारतले भ्रमणको निम्ता नपठाउनु पनि यसैको उदाहरणका रुपमा लिन सकिन्छ । परराष्ट्रमन्त्रीसमेत रहेकी कांग्रेस नेतृ आरजु राणाको भारत भ्रमण सहकार्यको हात बढाउनमा केन्द्रित थियो ।

यद्यपि, बहुप्रतिक्षित मानिएको ‘लोट्टे न्युयोर्क प्यालेस’ भेट (प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी) पनि अर्थपूर्ण भएन । ओलीले ३० मिनेटको ‘लोट्टे न्युयोर्क प्यालेस’ भेटबाट पनि भ्रमणको निम्ता पाउन सकेनन् ।

भारतले कांग्रेस–एमाले सहकार्यप्रति अरुची देखाएपछि प्रधानमन्त्री ओली अहिले उत्तरी छिमेकी देश चीनतिर हात बढाउने प्रयासमा देखिएका छन् । जसकै शिलशिलामा ओलीको चीन भ्रमण तय भएको देखिन्छ । हालसम्मका परम्परालाई तोड्दै ओली मंसिर १७ मा ओली चीनको राजकीय भ्रमणमा निस्किँदैछन् ।

यद्यपि, यो भ्रमण प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका लागि भने रुचिकर देखिएको छैन । कांग्रेसले यो भ्रमणप्रति अरुचिमात्रै देखाएको छैन, त्रसित शैलीमा आफूलाई उभ्याएको छ । विशेषगरी बिआरआई परियोजनामा हुनसक्ने सम्झौतालाई लिएर कांग्रेस सशंकित देखिन्छ ।

यदि चीन भ्रमणमा ओलीले कुनै एकल शैलीमा निर्णय लिएमा सहकार्यमाथि गम्भीर प्रश्न उठ्नेमा दुबिधा छैन । कांग्रेसले भ्रमण अगावै भ्रमणका विषयलाई लिएर प्रश्न उठाइरहेको छ ।

सत्ता सहकार्यमा रहेका दुई दलबिच आन्तरिकरुपमा पनि थुप्रै सकसहरू देखिन्छन् । सरकारको नेतृत्व पाएको एमाले सहकार्यलाई अगाडि बढाउने पक्षमा उभिँदा कांग्रेसभित्र भने ठूलो दरारको अवस्था छ ।

सरकारको निराशाजनक ‘हनिमुन पिरियड’लाई लिएर कांग्रेसभित्रबाट प्रश्न उठिरहेको छ । इतर समूहको नेतृत्वकर्ता डा. शेखर कोइरालाले खुलेरै सरकारबारे आलोचना गरिरहेका छन् । उनले एमालेको असफलतालाई बोक्न नहुने बताइरहेका छन् ।

उपसभापति धनराज गुरुङलाई जोगाएर लिलाबल्भल अधिकारीलाई पक्राउ गरेर कांग्रेस मनाउने प्रर्यत्न कति फलदायी होला, त्यो आगामी समयले बताउला ? यद्यपि, प्रधानमन्त्री ओली स्वयंबाट उठिरहेका प्रश्न र जसमा देउवाले दिइरहेका जवाफले पनि अवस्था सहज नभएको देखाउँछ ।

‘जुनसुकै बेला टुट्न सक्छ सहकार्य’

राजनीतिक विश्लेषक मुकुन्द आचार्यको बुझाइमा वर्तमान कांग्रेस–एमाले गठबन्धनभित्र चरम टकरावको अवस्था छ । रुमलिएको अवस्थामा सहकार्य भएपनि आगामी समय कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा निकै विवाद देखिन्छ । जसमा बाह्य शक्तिको भूमिका मुख्य हुन जाने उनको बुझाई छ ।

“दुई शक्ति किन एक ठाउँमा आए भन्ने सन्दर्भलाई केलाउँदा बढी आन्तरिक कारण देखिन्छ, यद्यपि सहकार्यपछि बाह्य कारणहरु हाबी भएको पाइन्छ”, आचार्य भन्छन्, “न दक्षिण, न उत्तर, न पश्चिम कसैले पनि स्वीकार गर्ने अवस्था नबन्नुलाई सामान्य मान्न मिल्दैन, यिनैको टकराव कसरी अगाडि बढ्छ भन्नेले नै गठबन्धनको भविष्य तय गर्छ ।”

आचार्यको बुझाइमा ओलीको चीन भ्रमण पनि आन्तरिक तथा बाह्य शक्तिहरूबिचकै द्वन्द्वकै बिच भएको हो । जसले थप अन्योलता र विवादको अवस्था निम्त्याउन सक्ने उनको बुझाई छ ।

“ओलीले भारतबाटै भ्रमणको सुरुवात गर्न खोजेका थिए, थप मोदीले स्वागत गर्न खोजेनन्, तेस्रो देशबाट गर्ने अवस्था रहेन”, उनी भन्छन्, “उत्तरी छिमेकी देशबाट भ्रमणको सुरुवातले हुनुले प्रश्न जन्माइसकेको छ, यसले थप अन्योलता र विवाद जन्माउनेमा दुबिधा छैन ।”

अर्का राजनीतिक विश्लेषक चन्द्र बस्याल, सहकार्यको सुरुवातमै समस्या देखिएको हुनाले सहकार्य अगाडि बढिरहने सन्दर्भमा प्रश्न उठेको बताउँछन् । आफैंमा दुई दल प्रतिस्पर्धी शक्ति भएको र बाह्य स्वार्थ पनि दुवैको सन्दर्भमा अलग–अलग भएको कारण समस्या बनिरहेको उनले बताए ।

“अहिले चीन भ्रमणको विषय आएको छ, कांग्रेसभित्रबाट आशंकाहरु देखिएका छन्”, बस्याल भन्छन्, “आशंका किन जन्मियो ? विषय प्रष्ट छ, आन्तरिकरुपमा विश्वासको अवस्था छैन भने बाह्यरुपबाट पनि प्रभाव देखिएको छ ।”

अमेरिकामा डोनाल्ड ट्रम्पको प्रभाव एसियामा समेत देखिएको र त्यसको प्रभाव नेपालको राजनीतिमा पनि क्रमशः देखिन थालेको बस्यालको बुझाइ छ । जुन कारणले पनि स्वार्थ बाझिँदा सहकार्य अगाडि बढाउने सन्दर्भमा समस्या बनिरहेको उनको भनाई छ ।

बाह्य राजनीतिलाई मसिनो गरी केलाउने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी बाह्यरुपमा विकसित घटनाक्रमले कांग्रेस–एमाले गठबन्धनको भविष्य धरापमा देखिएको बताउँछन् । बाह्य शक्तिले कुनलाई अगाडि सार्ने भन्ने खेल खेल्दा सरकार नै के हुन्छ भन्ने अन्योल भएको उनको बुझाई छ ।

“नेपालको राजनीतिमा बाह्य प्रभाव छैन भन्नु व्यर्थको कुरा हो, जुन खुलेरै देखिने गरेको छ, अहिले पनि प्रकट भइरहेको छ”, उनले भनेका छन्, “वर्तमान गठबन्धनलाई जसरी भारतले रुचाएन, पश्चिमाले आशंका व्यक्त गर्‍यो र उत्तरले पनि पर्ख र हेरको अवस्थामा आफूलाई उभ्यायो, यसले गठबन्धनको भविष्य निकै अन्योलपूर्ण देखाउँछ, सँगै पछिल्ला घटनाक्रमले जुनसुकै बेला तलमाथि हुने अवस्थालाई पनि संकेत गर्छ ।”

उनको बुझाईमा बाह्य शक्तिको टकरावको परिणाम सत्ता तलमाथि हुने अवस्था धेरै छ । “ओलीले चीनबाट भ्रमण सुरुवात गर्दै गर्दा दक्षिण र पश्चिमको प्रतिक्रिया निकै नकारात्मक छ, जसको प्रभाव अर्को सत्ता साझेदार कांग्रेसलाई पनि परेको छ”, उनले भनेका छन्, “यदि ओलीले एकल ढंगले कुनै निर्णय लिएमा गठबन्धन तत्कालै ढल्ने अवस्था रहन्छ, सँगै अहिलेसम्मको अवस्थाले पनि ठूलो विश्वासको खडेरी बनाएको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट